बिग आइकन घन्किए यूकेमा, ‘माया पव’ मा नेपाली स्पोर्टस् र म्युजिकको फ्युजन (तस्विर र भिडियो)

Share:

पोखरा, ७ असोज । सांगीतिक भ्रमणका लागि बेलायत पुगेका सातौं बिग आइकन सुवास गुरुङले तीन दर्जन गीतमार्फत् त्यहाँ रहेका संगीत पारखीलाई मन्त्रमुग्ध बनाएका छन् । बेलायतमा पहिलो कार्यक्रम अन्तर्गत शनिबार राति लण्डनस्थित साउथ हारोमा रहेको माया पबमा आफ्नो प्रस्तुति राखेका हुन् ।

हाम्रो नेपालमा, कति बाँचौला है माया, च्याङ्बा होई च्याङ्बा, चाइना कम्पनी, गुराँसै फुल्यो लगायतका तीन दर्जन गीत गाउँदा सुवासलाई उपस्थित सबैले साथ दिए । कार्यक्रम स्पोर्टस् र म्युजिकको फ्युजन बन्यो । नेपालबाट गएका नेपाली फुटबलका विशिष्ट व्यक्तिहरु र बिग आइकन सुवास गुरुङ, आयोजक बिग एफएमका अध्यक्ष महेश भण्डारीले एउटै स्टेज शेयर गरे ।

त्यहाँ सबैको रोजाइ बनिसकेको माया पवका सञ्चालक सिद्धार्थ बिक्रम क्षेत्री खेलकुदसँग सम्बन्धित रहेकाले पनि यो संगीत र खेलकुदको फ्युजन बनेको हो । क्षेत्री राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष समेत हुन् ।

बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को आमन्त्रण तथा काठमाण्डौ थापाथलीस्थित द ब्रिटिश कलेजको व्यवस्थापनमा अहिले बिग आइकन गुरुङ अध्यक्ष भण्डारी सहित बेलायत भ्रमणमा छन् । त्यहाँ करिब दुई हप्तासम्म सुवासले विभिन्न शहरहरुमा रहेका नेपाली समुदायबीच आफ्नो साँगीतिक प्रस्तुती राख्ने कार्यक्रम छ । साउन हारो, प्लमस्टीड लगायतका स्थानमा कार्यक्रम हुनेछन् । लण्डनकै प्लमस्टीडमा रहेको डाँफेमा पनि उनको प्रस्तुति रहनेछ ।

यसअघि, चौथो बिग आइकन मुस्कान रानाभाट, छैटौं बिग आइकन साजन आले यो ‘ट्रिप’ अन्तर्गत बेलायत पुगेर सांगीतिक कार्यक्रम गरिसकेका छन् । ‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको पत्रिका हो । यो पत्रिका भगिनि संस्था द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । काठमाण्डौको थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । द ब्रिटिश कलेज ‘सपोर्टेट बाइ’ टाइटलमा बिग आइकनमा निरन्तर चारवर्षदेखि जोडिएको छ ।

एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्ष कृष्ण थापा र उपेन्द्रमान सिंह पनि सँगै

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एक टोली लण्डनमा छ । टोलीले माया पबमा बिग आइकनको प्रस्तुतिमा साथ दिए ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्वय कृष्ण थापा र उपेन्द्रमान सिंह शनिबार साँझ लण्डन पुगेका हुन् ।

बिग आइकनको प्रस्तुति रहेको स्वागत कार्यक्रममा अध्यक्ष शेर्पाले नेपाली फुटबलप्रतिको माया बढाउन आफू देश विदेशमा सम्बन्ध विकास गर्न लागिपरेको बताउँदै नेपाली राष्ट्रिय टोलीलाई बेलायतमा ल्याएर खेलाउने बताए । उनले भने – ‘यहाँ म आफैलाई युके जस्तै लागेन, आफ्नै गाउँठाउँ जस्तो लागेको छ । सबै आफ्नै ।’ शेर्पाले अन्तर्राष्ट्रिय स्तरको लोगो र जर्सी बनाउने गरी परिवर्तन कार्य हुँदै रहेको पनि जनाए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष क्षेत्रीले क्रिकेटका कार्यक्रमहरु भईरहेका छन्, फुटबल किन नगर्ने ? भनेर दुई वर्षदेखि आफू लागिपरेको र ठूलो प्रोजेक्ट आयोजना आउने बताए ।

बिग एफएमका अध्यक्ष भण्डारीले मिठो आतिथ्यता र यस्तो राम्रो व्यवस्थापनका लागि आयोजकप्रति आभार प्रकट गरेका छन् ।

    

– लण्डन नेपाल न्यूज डटकमका लागि शिव भण्डारीको तस्विर ।

कमेन्ट गर्नुहोस्
Share: