
कार्तिक ३, पोखरा
पोखरा अन्तराष्ट्रिय क्षेत्रिय विमान स्थल निर्माणमा कार्यरत चिनिया कामदारहरुले नेपाली महान् पर्व विजया दशमी मनाएका छन् । उनीहरुले ढाका टोपी र कानमा जमरा तथा निधारमा टीका लगाएर दशैँ पर्व मनाउँदा खुशी लागेको बताएका थिए । चिनियाँ नागरिकहरुले चामलको टिका र जमरा लगाउँदा अचम्म मान्दै विभिन्न सामाजिक सञ्जाल मार्फत आफ्ना घर परिवारहरु र साथीहरु समक्ष नेपाली पर्व मनाएको समेत जानकारी दिएका थिए ।

विमान स्थल निर्माणमा कार्यरत करिव १५ जना चिनियाँ नागरिकहरुलाई ईआरएमसी ए–नट –स्लेट जेभी मार्फत् परामर्शदातृ समूहको नेतृत्व गरिरहेका इन्जिनियर कमल कार्कीले टीका लगाएर र आशीर्वाद दिएका थिए ।
टीका सकिएलगत्तै अर्का इन्जिनियर पवन आचार्यले ’सिमानाले छुट्टाएको तर पर्वले जोडेको’ भनेर दशैँबारे फेसबुकमा समेत चिनियाँ नागरिकहरु सँग मनाउको तस्बीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
जीवनमा पहिलो पटक देखेको र मनाएको दशैँको सम्झना जीवनभरि रहिरहने चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङका, पोखरा प्रमुख ’झु’ले बताए ।
’चिनियाँसँगै दशैँ ! किन त ?’ सोध्दा कार्कीले भने ’हामी दशैँ पनि नभनी काम गरिरहेका छौँ । टीकाको दिन त शुभकामना आदान प्रदान गरौँ भनेर केही समयको लागि यो कार्यक्रम आयोजना गरेका हौँ हाम्रो संस्कृतिको बारेमा चिनियाँ प्राविधिक तथा कामदारहरूलाई पनि जानकारी गराउन यसो गरिएको हो’ उनले भने ।
