मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन

Share:

२ मंसिर,तनहुँ । गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवी पुनलगायत सहभागी टोलीले बेलचौतारास्थित भानुभक्त क्याम्पस र वडा नं –९ स्थित घारीमा रहेको सार्वजनिक जग्गा अवलोकन गरेको हो । सार्वजनिक जग्गा अवलोकन गरेपछि मुख्यमन्त्री गुरुङले भने यस ठाउँमा रहेको सार्वजनिक जग्गा विश्वविद्यालय बनाउन उपयुक्त देखिएको छ ।” उनले उक्त नगरपालिकाका प्रमुख, उपप्रमुख अन्य पदाधिकारी एवं स्थानीय जनसमुदायले यहाँको विकास निर्माणमा देखाएको उत्साहले आफूलाई खुशी तुल्याएको बताए ।

उक्त नगरपालिकाका प्रमुख किसान गुरुङले उक्त ओगट्ने मात्र नभइ उपयोगमा ल्याउने हो भने नगरपालिका र स्थानीयवासी सकारात्मक रहेको बताए । उनले नगरपालिका क्षेत्रभित्र करीब पाँच हजार रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिए । प्रदेश सरकारले गठन गरेको एक कार्यदलले भानुभक्त क्याम्पसलाई नै प्रदेशस्तरीय विश्वविद्यालयको रूपमा स्तरोन्नति गर्न उक्त स्थान उपयुक्त हुने ठहर गरी प्रतिवेदन बुझाएको थियो ।भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर थापाले भने क्याम्पसको अस्तित्व नै मेटिने गरी क्याम्पसको जग्गामा विश्वविद्यालय बनाउन नपाइने बताए ।  क्याम्पस सञ्चालक समितिले भने सरोकारवालासँग छलफल नगरी प्रतिवेदन बुझाएको भन्दै प्रदेशस्तरीय विश्वविद्यालय बनाउन नदिने अडान लिएको थियो । सोही कार्यदलले उक्त नगरपालिकाको वडा नं ८ स्थित तिब्बती शरणार्थी क्याम्पसँग रहेको करीब एक हजार ८०० रोपनी, वडा नं– ९ स्थित घारीमा रहेको करीब एक हजार ५०० रोपनी जग्गासमेत विश्वविद्यालय सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: