गण्डकी प्रदेशमा १२ वर्षभित्र गरिबी अन्त्य गरिन्छ:मुख्यमन्त्री गुरुङ

Share:

लमजुङ, मंसिर ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको १२ वर्ष्भित्रमा गण्डकी प्रदेशमा गरिबीको अन्त्य गरिने बताएका छन् । सोमबार लमजुङको खुदीमा प्रथम मर्स्याङ्दी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सन् २०३० सम्ममा प्रदेशमा गरिबी अन्त्य गरिने बताएका हुन् । प्रदेशमा भोकमरी तथा गरिबीको अन्त्य गर्नेगरी अहिलेदेखि नै उत्पादनमुखी कार्यक्रममा जोड दिइएको उनले उल्लेख गरे । चालू आर्थिक वर्षमा लमजुङमा ३०० होमस्टे प्रवर्धन गर्नेगरी कार्यक्रम सन्चालन गरिने उनको भनाइ छ ।

होमस्टे प्रवर्धनका लागि ३० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले सुनाए । ‘गण्डकी प्रदेशको सिरुबारीबाट नेपालमै पहिलो होमस्टे सुरु भएको हो । लमजुङको घलेगाउँ होमस्टेले संसारलाई चिनायो’–मुख्यमन्त्री गुरुङले भने’,”यही गौरव र पहिचानलाई लिएर होमस्टेको विकास गर्ने तरखरमा छौं । होमस्टेबाट आय–आर्जन बढाउन प्रयत्नरत् छौं ।’प्रदेशभित्र आधुनिकीकरण र यन्त्रीकरण गरी व्यावसायिक तरकारी, फलफूल तथा खाद्यान्न उत्पादनमा जोड दिइने उनले बताए ।

प्रदेशभरि ४०० मोडल फर्मको प्रवर्धन तथा सुरुआत गर्नका लागि चालू आवमा ४० करोड रुपैयाँ छुट्टाइएको उनले जानकारी दिए । जलवायु परिवर्तन अनुकूलन कृषि खेतीका लागि प्रत्येक गाउँमा ‘मुख्यमन्त्री कृषि परियोजना’ सन्चालन गरिने भन्दै उनले प्रदेशका प्रत्येक घरमा क्रमशः विद्युत्, खानेपानीलगायतका सुविधा र्पुयाइने बताए । उनले स्थानीय उत्पादनको बिक्री तथा बजारीकरणमा सहयोग पुगेमात्र मेला, महोत्सवले सार्थकता पाउने धारणा राखे । जनताले देश विकासका लागि कम्युनिस्टलाई ‘अख्तियारी’ दिएकाले प्रतिपक्षी वा अरु कसैलाई दोष दिएर उम्कन नमिल्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: