
६ मंसिर,लमजुङ । आफैँमा चिसो हावापानी हुन्छ, हिमाली क्षेत्रमा । मंसिर महिनाको सुरुवातसंगै हिमाली जिल्ला मनाङमा पनि बिस्तारै चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढि जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ ।मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यो समयमा बजार तथा बाटोहरुमा मानिसहरुको चहलपहल घटेको छ ।
स्थानीय सञ्चारकर्मी नेगमका अनुसार मनाङमा चिसो बढेतापनि मनाङसम्म आउने पर्यटकको संख्या बढ्दो छ । जाडो महिनामा हिउँसंग खेल्न, रमाउन पाउने भएकाले पनि चिसो मौसममा पर्यटकहरु मनाङसम्म पुग्छन् । मंसिर, पुस र माघ महिनामा जाडो छल्नका लागि स्थानीय देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् ।मनाङ–चामेका सन्तोष लामाका अनुसार जिल्लाको माथिल्ला भेगहरुमा हिउँ पर्न सुरु भईसकेको छ । तल्लो क्षेत्रमा भने हालसालै खासै हिउँ पर्दैन । बिस्तारै तल्लो भेगहरुमा पनि हिउँ पर्न सुरु हुने लामा बताउनुहुन्छ । माथिल्ला भेगहरुमा हिउँ पर्न थालेसंगै तल्लो भेगहरुमा चिसो बढ्दै गएको स्थानीयहरु बताउँछन् ।
माथिल्ला भेगमा रहेका खर्कहरुबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगहरुमा सार्ने तयारीमा किसानहरु जुटेको पनि नेगमले बताउनुभयो ।‘अबका तीन महिना माथिल्ला भेगहरुमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पुरै हिउँले पुर्छ । त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरुले घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन्,’ नेगमले थप्नुभयो । यस क्षेत्रका किसानहरुको माथिल्लो भेग र तल्लो भेगमा गरी २ गोठ रहेका हुन्छन् । चिसो बढेसंगै माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरुले घरपालुवा पशु याक, चौँरी, च्याङ्ग्रा र भेँडाबाख्रा जिल्लाको तल्लो भेगमा रहेका तालगाउँ, धारापानी, दानाक्यू लगायतमा ठाउँमा सार्ने गर्दछन् ।
FILE PHOTO
