गण्डकी प्रदेशका शिक्षकहरुको सामाजिक विकास मन्त्रालय अगाडी धर्ना

Share:

अनुप पौडेल । ७ मंसिर, पोखरा । स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने लगायतका माग सहित गण्डकी प्रदेशका शिक्षकहरुले शुक्रबार सामाजिक विकास मन्त्रालय अगाडी धर्ना दिएका छन । केन्द्रको कार्यक्रम अनुसार शिक्षक महासंघ गण्डकीको आयोजनामा शुक्रबार धर्नासंगै विरोध र जुलुस निकालिएको कार्यक्रम संयोजक एवम नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेलले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशका प्रत्येक बिद्यालयका शिक्षक प्रतिनिधिहरुले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई २६ सूत्रीय माग पत्र बुझाएका थिए । माग पत्र बुझ्दै मन्त्री पुनले त्यसलाई अध्ययन गरेर सम्बोधन गर्ने आश्वाशन दिएकी थिइन् ।महासंघले माग पत्रमा कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने,तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायी बनाउने प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गर्न प्रक्रिया अघि बढाउनुपर्ने माग राखिएको छ । प्रदेशका विद्यालयहरुले विद्यालयको प्रतिनिधित्व गर्दै २/३ जना शिक्षक पठाएको सहभागी मध्यका एक मेघनाथ पौडेलले जानकारी दिए ।

आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेकाले विरोध जनाएको कार्यक्रम संयोजक पौडेलले बताए । माग सम्बोधनका लागि सरकारलाइ दबाब दिन बिरोध प्रदर्शन गर्दै मन्त्रालय पत्र बुझाएको उनको भनाइ छ । संयोजक पौडेलले भने,”केन्द्रको योजना अनुसार नै हामीले कार्यक्रम आयोजना गरेका हौं,हाम्रो विरोध व्यक्तिगत स्वार्थका लागी होईन,हामीले शैक्षिक विकासका लागी विरोध जनाएका हौं ।”महासंघले यसअघि गएको कार्तिक १६ गते स्थानीय पाँचवटै पालिकामा सोहि मागपत्र बुझाएको थियो । त्यस्तै ३० गते जिल्ला शिक्षा कार्यालयमा सोही मागपत्र बुझाएको थियो । पौडेलका अनुसार आउँदो १४ गते केन्द्रमा पनि मागपत्र बुझाउने कार्यक्रम रहेको छ ।

(तस्बीर-सहभागी शिक्षक मेघनाथ पौडेलको सहयोगमा)

कमेन्ट गर्नुहोस्
Share: