
२३ मंसिर,पोखरा । पोखरा महानगरपालिका-२०,स्थित भलामखोलामा झन्डै दुई करोड लागतमा पक्की पुल बनेको छ। नेपाल सरकारको १ करोड ७३ लाख ४२ हजार रुपैयाँ र १९ लाख २६ हजार ८९४ रुपैयाँ बराबरको जनश्रमदानबाट पुल निर्माण पूरा भएको हो। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले नवनिर्मित पुलको शनिबार उद्घाटन गरेका छन् ।
उक्त अवसरमा उनले पुल निर्माणसँगै यस क्षेत्रको विकासको ढोका खुलेको बताए । प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत पोखरा ११ देखि २० को भलाम, चण्डी देउराली, हरिहर गुफा, डाँडागाउँ हुँदै वडा नम्बर १६ को अर्मलासम्म जोड्ने पक्की सडक निर्माण गरिने मन्त्री बस्नेतको भनाइ छ।
उक्त योजना सम्पन्न गर्न पनि स्थानीय बासिन्दाको महत्वपूर्ण सहयोग रहने उनको विश्वास छ। गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सडक पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै विकास निर्माणमा सबैको सहयोग अपरिहार्य रहेको बताइन् ।
अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले पुल निर्माणसँगै पोखराको भलामदेखि मौजासम्म कृषि उपज बजारीकरण तथा किसानको समृद्धिमा सहयोग पुग्ने बताइन् । पुलबाट पोखरा ११ को फूलबारी मणिपाल,भलाम मौजा र बाटुलेचौरसम्मका स्थानीय वासिन्दा लाभान्वित हुने पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए।

