
पोखरा । तपाईं उच्च शिक्षाका लागि विदेश जान चाहनुहुन्छ ? विभिन्न ठाउँमा रहेका कन्सल्टेन्सी धाइरहन पर्दैन । पोखरादेखि काठमाण्डौसम्मका मात्र होईन, विदेशबाट समेत सेवा प्रदान गरिरहेका सबै परामर्शदातृ संस्था एकै ठाउँमा बसेर परामर्श दिइरहेका छन् । तर, ढिला नगर्नुहोस्, पोखरा सभागृहमा आज शुक्रबारसम्म मात्र यो फाइदा लिने समय छ । र गएपछि, गेटमै टिकट काट्नुपर्दैन, टिकट काट्ने ठाउँमा एउटा कुपन लिन नभुल्नुहोस्, जसले बम्पर उपहार ल्यापटप समेत जित्न सकिन्छ ।
सो स्थानमा इक्यान शैक्षिक मेला जारी छ । जुन, शुक्रबार सकिदैछ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर बुधबारदेखि आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’ अर्थात ईक्यान फेयर शुक्रबार समापन हुन लागेको हो ।
मेलाको शुक्रबार साँझ एक औपचारिक कार्यक्रम गरेर समापन गरिने ईक्यान कास्कीका अध्यक्ष भूवन क्षेत्रीले जानकारी दिए । समापन साँझ हुने भएकाले शुक्रबार दिनभर मेलामा सबै स्टल खुल्ला रहने र शैक्षिक परामर्श जारी रहने उनले स्पष्ट पारे । पोखरा सभागृहमा भएको इक्यान शैक्षिक मेलामा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको अध्यक्ष क्षेत्रीले बताए । उनले भने, ‘मेलाको पहिलो र दोश्रो दिन विद्यार्थी र अभिभावकहरुको सहभागिता उत्साहजनक रह्यो, समग्रमा भन्दा मेला भव्य रुपमा सफल भयो ।’
मेलाको उद्देश्य वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकहरुलाई काउन्सिलिङ गर्नु रहेको र त्यस उद्देश्यमा मेला सफल भएको उनले दाबी गरे । मेलामा राखिएको स्टल तथा पेभेलियनहरुमा विद्यार्थी र अभिभावकको दुई दिनसम्म शैक्षिक परामर्श लिनेको उत्साहजनक सहभागिता रहेको सचिव रुद्रप्रसाद अर्यालले बताए ।
मेलामा पेभेलियनसहित ७० वटा वैदेशिक तथा स्वदेशी शैक्षिक स्टल छन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी भएको इक्यान उपाध्यक्ष एवं मेला संयोजक सन्दिप अर्यालले जानकारी दिए । एउटै छानामुनी विश्वभरका नामी कलेजहरुले दिने शिक्षा, छात्रवृत्ति तथा सम्बन्धित देशको अवस्था, भिसा प्रोसेस लगायतबारे जानकारी दिने उद्देश्यले मेला आयोजना बताइन्छ ।
शैक्षिक मेलामा विद्यार्थीसहित अभिभावक पनि सहभागी गराउने उद्देश्यले मेला निःशुल्क गरिएको इक्यान कास्कीका कोषाध्यक्ष प्रकाश गैह्रेले बताए । उनले मेलामा बढी भन्दा बढी सहभागि गराउने उद्देश्यले पोखराका विभिन्न कलेज पुगेर मौखिक जानकारी गराउनुका साथै पर्चा पम्प्लेटसमेत वितरण गरिएको जानकारी दिए ।
तस्विरः परिचय नेटवर्क


