अंग्रेजी नयाँ वर्षमा हुने पोखरा सडक महोत्सव व्यवस्थित र परिमार्जित हुनुपर्नेमा जोड

Share:

मंसिर २८,पोखरा । पुषको १३ देखि १७ गते सम्म रेवान पोखराको आयोजनामा हुने २० औं पोखरा सडक महोत्सव थप व्यवस्थित र परिमार्जित हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । महोत्सव सफल पार्न शुक्रबार भएको छलफल कार्यक्रमका सहभागिहरुले सडक महोत्सव अन्तर्गत विगतका वर्षहरुमा देखिएका त्रुटीहरु सच्याउँदै यसपटक अझै व्यवस्थित पार्न सुझाव दिएका हुन् ।

उनीहरुले ट्राफिक व्यवस्था, फोहोर मैलाको उचित व्यवस्थापन,भिड नियन्त्रण,सार्वजनिक शौचालय व्यवस्थित पार्किङ्ग लगायतमा आयोजकले ध्यान पु¥याउनुपर्नेमा जोड दिए । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष लेकसाइडको झण्डै तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्दै आएको छ । महोत्सव नेपालकै पृथक महोत्सव भएकाले पनि यसमा अवलोकनकर्ताको अत्याधिक सहभागिता रहने गर्दछ । नयाँ वर्षको स्वागतका लागि महोत्सवमा जानेहरुले लेकसाइडको सडक खचाखच हुने गर्दछ । यस्तोमा ठूलो दुर्घटना हुन सक्नेतर्फ ध्यान दिंदै आयोजकले सुरक्षा व्यवस्थापनलाई चुस्त पार्नुपर्नेमा पनि सहभागिहरुले जोड दिए ।

दमकल, एम्बुलेन्स लगायतलाई तयारी अवस्थामा राख्नुपर्ने, महोत्सव स्थल बसुन्धरा पार्कमा जाने आउनेहरुको भिडमा मानिसहरु थिचिन सक्ने भन्दै त्यसका लागि बैकल्पिक बाटोको खोजी गरिनुपर्ने, घटना भइहाले तत्काल उपचारका लागि स्वास्थ्यकर्मिको व्यवस्था हुनुपर्ने लगायतका विषयहरुमा पनि सहभागिहरुले सल्लाह सुझाव प्रस्तुत गरे । न्यू इयर इभमा गरिने आतिसबाजीलाई निरन्तरता दिनुपर्नेमा पनि उनीहरुले जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: