
प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को विजेता भएका छन् । कतारको दोहामा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् । सिडी विजय ‘दोस्रो खोजी प्रतिभा’ मा पनि उपविजेता बनेका थिए
नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।
फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए । ब्लाइण्ड अडिसनमा टीम प्रमोदबाट उनको यात्रा सुरु भएपनि ब्याटल राउण्डमा रोजाइमा नपरेपछि निर्णायक दीप श्रेष्ठले आफ्नो टीममा भित्राएका थिए । जसकारण, उनको यात्रा रोकिएन ।
सिडी विजय पहिल्यै स्थापित गायक हुन् । उनले जोखिम मोलेरै प्रतियोगितामा भाग लिएका थिए । अन्ततः उनी दर्शकका मायाका कारण पहिलो भ्वाइस अफ नेपालको उपाधि जित्न सफल भए ।
नेपालको पहिलो फ्रेञ्चाइज शो ‘नेपाल आइडल’ को पहिलो उपाधि पनि धादिंग घर भइ पोखरामा बस्दै आएका बुद्ध लामाले जितेका थिए । बुद्ध बिग एफएम १०१.२ ले आयोजना गर्दै आएको बिग आइकन २०१२ मा चौथो बनेका थिए । पहिलो नेपाल आइडलमा टप फोर भएका सागर आले मगर सातौं विग आइकनका उपविजेता हुन् । अहिले दोस्रो संस्करणमा टप एट बाट आउट भएका निलिमा थापा मगर सातौं बिग आइकनका टप फाइभहुन् । दोस्रो संस्करणको फाइनलमा पोखराबाट विक्रम बराल छन् । पोखरेलीहरु विक्रमलाई उपाधि जिताएर पोखरा हार्न नजान्ने भन्दै सामाजिक सञ्जाल रंगाइरहेका छन् ।
