
वालिङ,पुस १ । स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भइरहेका छन् । सिरुबारीबाट शुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका अन्य स्थानहरुमा पनि घरबास कार्यक्रमलाई अभियानकै रुपमा विकास गर्दै लगिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
देशभर १०० गन्तव्यको सूचीमा पर्न सफल मध्येको एक गन्तब्य सिरुबारी हो । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा दुई हजार ३०० भन्दा बढी नेपाली र ५०० भन्दा बढी विदेशी पर्यटक आएको अभिलेख छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो ।
त्यस्तै, गुरुङ समुदायमै आधारित सुन्तलाबारी सामुदायिक घरबास वालिङ नगरपालिका ४ नं वडामा पर्छ । बत्तीस घरधुरी रहेको सुन्तलाबारीमा ३० घर गुरुङ समुदायका र दुई घर ब्राह्मण समुदायका छन् ।‘आन्तरिक तथा बाह्य गरेर जिल्लामा ५० हजार भन्दा बढी पर्यटकहरु वर्षेनी आउँछन्,’ जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले भने, ‘यहाँ आउने पर्यटकलाई अझै धेरै दिन जिल्लाभित्र रहने वातावरण मिलाउन आवश्यक छ ।’ घरबास सञ्चालन भएका स्थानहरुका सञ्चालकहरुलाई प्रोत्साहन हुने कार्यक्रमहरु सञ्चालन गनुपर्ने खाँचो एकातिर छ भने घरबास प्रारम्भ भएको जिल्लाका रुपमा परिचित स्याङ्जालाई होमस्टेको राजधानीका रुपमा विकास गर्न थप पूर्वाधार निर्माण गर्न जरुरी छ ।
