लिटरेचर फेस्टिवल आयोजकलाई फेवाताल किनारका रुख कटानको उजुरी, १० हजार जरिवाना

Share:

रञ्जन अधिकारी । नेपाल लिटरेचर फेस्टिवलका अघिल्ला संस्करणहरु पोखरामा हुँदा नेपाल पर्यटन बोर्ड कार्यालय प्रांगणमा हुने गर्थे । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले यस वर्षको कार्यक्रम बाराही घाट नजिकै खुल्ला चौरमा आयोजना ग¥यो । शनिबारदेखि सुरु चार दिने फेस्टिवल मंगलबारसम्म विभिन्न विषयमा बौद्धिक छलफल गर्दै सकियो ।

देशका प्रतिष्ठित साहित्यकार, लेखक, नेता, कलाकारलाई पोखरा भित्राउँदै बौद्धिक भेला गराउने आयोजक आफै चुक्दा १० हजार तिर्नुपरेको छ । तीन महिनादेखि महोत्सवका लागि तातिएका आयोजकले ईञ्जिनियरकै डिजाइनमा दुई मञ्च बनाए । चौरमा बनाइएका दुई मध्ये भूपी कक्षबाट फेवाताललाई पृष्ठभूमि बनाईयो । तर, चौरदेखि फेवातालकिनारको बीचमा पैदलमार्ग छ । त्यसको छेउछाउ रुखहरु छन् । आयोजकले ति रुखका हाँगाहरु अनुमति नै नलिई काटिदिएपछि यहाँका नागरिक समाजका अगुवाले वडा कार्यालयमा उजुरी गरे ।

नागरिक समाज पोखरा संयोजक विष्णुहरि अधिकारीले पोखरा महानगरपालिका कार्यालयलाई बोधार्थ पठाउँदै वडा नं. ६ कार्यालयमा उजुरी दिएका हुन् । नागरिक अगुवा रामबहादुर पौडेल र महानगरका प्रवक्ता गंगालाल सुवेदीले पनि मज्जैले साथ दिए । दुई दर्जन रुखका हाँगाहरु काटिएको र ति हाँगाहरु छरपस्ट रुपमा तालकिनारमै छाडिएको भन्दै लिखित उजुरी गरिएको हो ।

त्यसपछि, वडा अध्यक्ष जगत पहारीले मंगलबार १० हजार क्षतिपूर्ति तिराए । आयोजकले महोत्सवका क्रममा भिडियोमा सिन खुल्ला बनाउँदा भूलबस काटेको प्रष्टिकरण दिएको उनले जनाएका छन् ।

आयोजकका एक सदस्यले रुख कुनै पनि नकाटिएको, हाँगाबिगा मात्र काटिएको बताए । फेवाताल नै पोखराको चिनारी हो, तातो बहससँगै पृष्ठभूमिमा देखिने ताल र हिमालले सुन्दरता थप्छ भनेर सकारात्मक चिन्तनका साथ काटिएको बताउँदै उनले यसले अर्को पाठ सिकाएको बताए ।

पोखरामा यस्ता विशिष्ट व्यक्तित्वहरु आउने माहौल बनाउने आयोजकप्रति भने पोखरेलीले आभार प्रकट गरेका छन् । तर, प्राविधिक रुपमा कमजोरी भएकाले यसतर्फ सचेत हुन आग्रह गरिएको छ ।

यति ठूलो साहित्यिक महोत्सव आयोजना गर्ने थलो वर्षेनी पोखरा छानिएको छ, तर स्थानीय साहित्यिक क्षेत्रले गर्व गर्नुपर्ने हो, किन गर्दैन ? भन्ने आयोजकको गुनासो पनि छ । यसलाई आगामी वर्षहरुमा झनै भव्य बनाउन पाेखरेलीबाट अझै ठूलो अपेक्षा आयोजक पक्षको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: