
१९ पौष,पोखरा । पोखराबाट चितवन गएका एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै गएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भरतपुर–२४,ध्रुवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले एसिड प्रहार गरेका हुन् । वीरेन पोखराबाट गाडी रिजर्भ गरेर ३ साथीसहित भरतपुर पुगेका थिए ।पारिवारीक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । पोखराबाट ग १ य ५४३ नम्बरको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर गएका थिए ।
वीरेनसहित घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौँडा–१० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा–२९ बस्ने निरेन गुरूङलाई पनि प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न भई भाग्न लागेको अवस्थामा जिल्लाका सबै नाकामा घेराबन्दी गरी उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
