यस्ता छन् आयोगले शिक्षामा सूचना र प्रविधिको प्रयोग गर्नका लागि दिएको सुझाव

Share:

काठमाडौं – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा सूचना र प्रविधिको व्यवस्था र प्रयोगबारे सुझाव दिएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा शिक्षालाई सूचना र प्रविधिसँग जोड्नुपर्ने आवश्यकतालाई बोध गरीे सुझाव दिएको हो । आयोगले शिक्षामा सूचना र प्रविधि सम्बन्धित सुझाव यस्ता छन् :

१) शैक्षिक संस्थाहरुमा निःशुल्क रुपमा उच्च गतिको इन्टरनेट सेवाको विस्तार गरी विद्यार्थी संख्याका आधारमा सूचना तथा प्रविधि प्रयोगशालाको विकास गर्ने ।
२) हरेक शिक्षण संस्थामा इन्टरनेटको पहुँच विस्तार गरी विद्यार्थी संख्याको आधारमा कम्प्युट, एलसिडी प्रोजेक्टर, टेलिभिजन र डिजिटल ह्वाइट बोर्डसहितको आईसिटी प्रयोगशालाको स्थापना गर्ने ।
३) क्याम्पस प्रमुख प्रधानाध्यापक र अभिभावकका लागि सूचना तथा सञ्चार प्रविधि साक्षरता सम्बन्धि तालिम, शिक्षकका लागि शिक्षण सिकाईमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धि एक महिनाको तालिम र डिजिटल, अनलाइन तथा वेभमा आधारित शिक्षण सिकाइ सामग्रीको विकास तथा प्रयोग गर्ने जनशक्ति विकास गर्नका लागि पाठ्यक्रम अधिकृत, तालिम प्रशिक्षक र प्राध्यापकका लागि ६ महिनाको तालिम सञ्चालन गर्ने ।
४) संघीय तथा प्रदेशस्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदाय निकायले ई–लाइब्रेरी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा, अनलाइन परीक्षा, ई–पोर्टफोलियो, आईसिटी सहितको पाठयोजना, विषय विशेषका शिक्षण साधन, पोडकास्ट, वेभ सेमिनार, एडुकास्ट, मेकरस्पेस र शिक्षण सिकाइमा आधारित एप्सहरुको विकास गर्ने ।
५) प्रभावकारी शिक्षण, प्राध्यापन, प्रशिक्षण, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण पद्धतिको विकास गर्न संघीय तथा प्रदेशस्तरमा (भर्चुअल शिक्षक, प्राध्यापक, प्रशिक्षक, अनुगमनकर्ता, निरीक्षक तथा सुपरिवेक्षणको विकास गर्ने) डिजिटल प्रविधि विकास गर्ने ।
६) संघीय र प्रदेशस्तरमा रहने शिक्षक तालिम प्रदायक निकायले वैज्ञानिक अनुसन्धान तथा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम र योग्य शिक्षक तथा प्रशिक्षकको विकासका लागि वेवसाइट, अनलाइन, ट््यूटोरियल, छलफल गर्ने फोरम, सिम्यूलेसन, भर्चुअल, इमेजिङ जस्ता नविनतम प्रविधियुक्त पेशागत क्षमता विकासका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने ।
७) सिकारु केन्द्रित शिक्षण सिकाइ प्रभावकारी रुपमा सञ्चालन गर्न Ubiquitous Learning ( U-Learning) तथा व्यक्तिले सहजै प्रयोग गर्न सक्ने सामग्रीहरु जस्तैः ट्याब्लेट, स्मार्ट फोन, मोबाइल आदिको प्रयोगमा जोड दिने ।
८) विश्वविद्यालयहरुले नियमित रुपमा पाठ्यक्रमको अद्यावधिक गरी सूचना तथा सञ्चार प्रविधि सम्बन्धि शैक्षिक कार्यक्रम सञ्चालन गरेर दक्ष र सिपालु जनशक्तिको विकास गर्ने ।
९) शिक्षालयहरुमा इन्टरनेटको प्रयोग गर्दा यसको दुरुपयोग र साइबर बुलिङसमेत हुने भएकाले शिक्षालयमा इन्टरनेटको प्रयोग र साइबर अपराधका बारेमा स्पष्ट कानुनी तथा नीतिगत व्यवस्था गर्ने ।
१०) सफल शैक्षिक नेतृत्वको विकास र संस्थागत परिर्वतन गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि शिक्षालयहरुमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्ने ।
११) शिक्षालयहरुमा स्मार्ट मोबाइल फोनमा आधारित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने
१२) प्रत्येक विद्यालयमा क्रमशः ई–पुस्तकालयको स्थापना गर्दै जाने । विद्यालय र सामूदायिक सिकाइ केन्द्रबिच सहकार्य गरी शिक्षण सिकाइ कार्य प्रभावकारी बनाउने ।
१३) नीति निर्माण गर्न आवश्यक तथ्यांक संकलन, प्रशोधन र परिणामका लागि Real Time माध्यमबाट प्राप्त गर्न सकिने आइसिटी संरचना बनाउने ।
१४) शिक्षक, विद्यार्थी निर्मित डिजिटल शिक्षण सामग्रीको अनलाइन संग्रहण, प्रशोधन र उपयोग गर्ने ।

कमेन्ट गर्नुहोस्
Share: