
काठमाडौं – त्रिभुवन विश्वविद्यालय व्यस्थापन संकाय अन्तर्गत स्नाकोत्तरको प्रथम सेमेस्टरमा ८२ दशमलब २१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
व्यवस्थापन संकाय डीनको कार्यालयका अनुसार देशभर पहिलोपटक सुरु गरिएको सेमेस्टर प्रणालीको पठनपाठन अन्तर्गत पहिलो सेमेस्टरको नतिजामा उपत्यकाबाहिरका क्याम्पस÷कलेजहरुबाट ८७ दशमलब ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने उपत्यकाभित्रका क्याम्पस-कलेजहरुबाट ९१ दशमलब ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्रिविले यस वर्षदेखि उपत्यकाबाहिरका क्याम्पसहरुमा समेत सेमेस्टर प्रणाली अनिवार्य गरिएको थियो । यसअघि गतवर्षसम्म त्रिवि कीर्तिपरमा रहेको विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणालीमा पठनपाठन भइरहेको थियो ।
गत भाद्र– साउन महिनामा सञ्चालन गरिएको पहिलो सेमेस्टरको परीक्षाको नतिजा ३ महिनाभित्र प्रकाशन गरिएको डीन प्रा.डा. डिल्लीराज शर्माले बताए । उनका अनुसार विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा ७ देखि १७ प्रतिशतसम्म मात्र विद्यार्थीहरु परीक्षामा उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको हो ।
यस वर्ष उपत्यका भित्र र उपत्याकाबाहिरका क्याम्पसहरुमा व्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो सेमेस्टरमा ६ हजार ३ सय ६० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
