
पोखरा । गत महिना मकवानपुरकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङबारे समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले नै उनको स्वास्थ्य अवस्थाबारे चिन्ता जनाउँदै डेलिभरी गराउने सम्पूर्ण जिम्मा राज्यले लियो । उनको पेटमा रहेको बच्चा ३४ हप्ताको पुगिसकेको छ । बाल अबस्थामा उनी गर्भवती भएकोले उनको निगरानी गर्नुपर्ने र स्वास्थ्य थप परीक्षण गर्नुपर्ने भएकाले उनलाई काठमाण्डौ लगिएको छ । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे । कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका १८ वर्षीय पतिको बिहेपछि पढाइ छुट्यो । कमाउन भनेर पति काठमाण्डौ हिँडे ।
त्यो घटना लगत्तै पोखरामा पनि यही प्रकृतिको घटना सार्वजनिक भयो । पत्याउन पनि कठिन हुने यस्तो घटना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा भएको हो । उक्त हस्पिटलमा सोमबार १३ वर्षकी एक बालिकाले स्वस्थ शिशु जन्माएर आमा बनेकी छिन् । त्यो पनि सामान्य सुत्केरी । ति बालिकाले जन्माएको छोरो साढे ३ किलो रहेको छ ।
पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने समेत हुनसक्छ भनेका थिए । तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माईन् । बच्चा र ती किशोरीको अवस्था सामान्य रहेको अस्पतालको प्रसुति विभागले जनाएको छ ।
बालिकाको घर स्याङ्जा हो । पेटमा गर्भ रहेको जानकारी भएपछि बालिकाकी आमाले अस्पताल लगेको र अस्पतालले महिला बालबालिका सेवा केन्द्रमा पठाईदियो । त्यसपछि सेवा केन्द्र मार्फत ती बालिका पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा बस्न सुरु गरिन् । त्यहाँ उनी विगत ४ महिनादेखि बस्दै आएकी थिईन् ।
अझै रोचक पक्ष के छ भने ती बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिईन् । प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएको श्रोतले बतायो । तर नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । कानुनानुसार ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन् ।
