५० टाँका लाग्नेगरि कुटपिट गर्ने बागलुङका दुई प्रहरी निलम्बित,घाईते बस्नेत अझै अस्पतालमा

Share:

०९ माघ,बागलुङ। सामान्य भनाभन हुँदा गम्भीर घाइते हुने गरी कुटपिटमा संलग्न दुई प्रहरी जवानलाई बागलुङ प्रहरीले विभागिय कारवाही गरेको छ । ईलाका प्रहरी कार्यालय हरिचौरमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाले गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि प्रहरी नियमावली अनुसार हाललाई निलम्बन गरिएको हो ।

कुटाइबाट गम्भीर घाइते भएका बस्नेतको पोखरास्थित फेवासिटी हस्टिपटलमा मेजर सर्जरी भईसकेको छ । उनको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न सर्जन डाक्टर सुरेशराज पौडेलले जानकारी दिए । अप्रेशन भएको १० दिन पुगेपछि टाँका खोल्ने र त्यसको केहि दिन भित्रमा नै उनलाई डिस्चार्ज गर्न सकिने उनले बताए ।

प्रहरीले लात्ति र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डैं दुई लिटर रगत सफा गरेको डाक्टरको भनाई छ । गएको पुस २९ गते हरिचौरमा भएको घटनापछि घाइते भएका बस्नेतलाई उपचारका लागि ३० गते पोखरा ल्याइएको थियो । बस्नेतको मेजर अप्रेसन भएकाले पेटमा ५० भन्दा बढि टाँका लगाइएको छ ।

निलम्बित प्रहरी जवान विष्ट र थापालाई हरिचौर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बागलुङ प्रहरी प्रमुख बिनोद रेग्मीले जानकारी दिए । घाइते बस्नेतको उपचारका लागि कुटपिटमा संलग्न प्रहरी जवानका परिवारले रकम उपलब्ध गराउँदै आएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: