
१३ माघ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोशेपानीको जङ्गलमा भेटिएको दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राजनागलाई संरक्षणका लागि पहल थालिएको छ। किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेको सङ्ख्या बढेको र वासस्थान नजिकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई नै ल्याएर स्थानीयवासीलाई सर्प संरक्षणसम्बन्धी जनचेतनामूलक बृहत् अन्तरक्रिया गरेको हो।
राष्ट्रिय मावि घतानका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र स्थानीयवासीलाई सर्प विशेषज्ञ तथा सर्प संरक्षण समाज नेपालका अध्यक्ष महेन्द्र कटिला, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विमला लम्साल र डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले किङ कोब्राको महत्व र संरक्षणका लागि गर्नुपर्ने कार्यको बारेमा जानकारी गराएका थिए।
विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका प्राणीशास्त्री एवं त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले कोशेपानीको जङ्गलमा दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राज नाग फेला पारेका थिए। किङ कोब्रा फेला परेपछि त्यस क्षेत्रमा हेर्न जानेको सङ्ख्या बढेको थियो। नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको चोखालले बताए।
किङ कोब्रा दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ। थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त कम पाइने किङ्ग कोब्राका विशेषज्ञ एवं हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले बताए। विशेषज्ञ थापाका अनुसार किङ्ग कोब्राले आहाराको रूपमा अरु सर्पलाई नै खाने गर्दछ। कहिलेकाहीँ आफ्नै प्रजातिका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको थापाले जानकारी दिए। थापाका अनुसार यसलाई आइयूटिएन(विश्व संरक्षण सङ्घ)को रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको छ।
