
माघ २१,गोरखा । गोरखामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए ।
जिल्लामा यसवर्ष ६ हजार ६०० टन सुन्तला उत्पादन तथा बिक्री भएको उनले बताए । यसवर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम रु ५० देखि अधिकतम रु ८० किलोसम्ममा बिक्री भएको थियो । उनका अनुसार जिल्लामा यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
खडेरी र पानीको अभावले सुन्तला उत्पादनमा बढी ह्रास आउने भएकाले त्यसतर्फ ध्यान पुर्याउन सके उत्पादनमा वृद्धि गर्न सकिने अधिकारीले बताए । त्यस्तै जिल्लाको देउराली, खेप्लाङ लगायतका क्षेत्रमा पनि व्यावसयिक सुन्तलाखेती गरिँदै आएको छ । जिल्लामा कूल ८६५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।
