भारतीय पर्यटक बोलाउन भारत हिँडे पोखेरली पर्यटन व्यवसायी

Share:

माघ २२,पोखरा । पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हिँडेको २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा)ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट (बिटिएम)मा सहभागी हुनेछ ।

बिटिएममा सहभागिताका साथै त्यहाँका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्ष वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा पोखरा पर्यटन परिषद् र इथवाबीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षरसमेत भएको थियो ।

सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का तत्कालीन अध्यक्ष सोम थापा र इथवाका अध्यक्ष सुवासजी चक्रवर्तीले हस्ताक्षर गरेका थिए ।सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवर्द्धनलगायतका विषय समेटिएको थियो । नेपाल सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने योजना सार्वजनिक गरिरहँदा गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा नै २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । पर्यटकीय गतिविधि बढाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रूपमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: