
माघ २८,पोखरा । पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार आयोजित समापन समारोहमा भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएका हुन् ।
नेपाल भारतको काँकडभिट्टा सीमानाका नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सिधा हवाई सम्पर्क नभएको प्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो रहेको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । सुझावलाई आत्मासाथ गर्दै अध्यक्ष पोखरेलले सिधा हवाई सेवाका साथै त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न पहल गरिने धारणा राखे ।
सहभागी टोलीका सदस्यलाई अध्यक्ष पोखरेल र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलका अनुसार भ्रमण टोली उत्तरपूर्वी भारतका छ राज्यमा पर्यटन व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनले सिलगुडीमा आयोजना गरेको बङ्गाल ट्राभल मार्टमा सहभागी भएको थियो ।
सहभागी टोलीले व्यावसायिक साझेदारीका विषयमा छलफल गरेको थियो । त्यस्तै टुर अपरेटर एशोसिएसन अफ आसामका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायीसँग गुहाटीमा पर्यटकीय साझेदारीलगायतका विषयमा पनि छलफल भएको थियो ।
FILE PHOTO
