
फागुन १०, काठमाडौं । भारतबाट ल्याइएका इलेक्ट्रोनिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दावी गरेका छन् ।
गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । मन्त्रालयमा बुधबार बिदाइ कार्यक्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा सरुवामा परेको पर्यटनमन्त्री रबीन्द्र अधिकारी कै सामुन्ने बताएका हुन् । कसले दबाब दिएको भन्ने उनले खुलाएनन् ।
‘ती बस आयात गर्ने साहुले नै भन्सारमा कन्ट्री अफ ओरिजिन भारत भनेर लेखेको छ,’ उनले भने, ‘म कसरी चीनबाट आयात भएको लेख्नसक्छु !,’ आफूलाई ती इलेक्ट्रिक बस चीनबाट आयात भएको लेख्ने आधार नभएको प्रस्ट पार्दै उनले भने, ‘मेरै प्राविधिकले ती बस आयातमा १७ वटा प्राविधिक त्रुटि देखाउँदै मिल्दैन भनेको छ, म कसरी सक्छु ?’
प्राविधिक समितिले स्पेसिफिकेसन अनुसारका बस आए/नआएको अध्ययन गर्नुअगावै हतारमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । ती बस लुम्बिनी क्षेत्रमा चलाउन ल्याइएका थिए । परीक्षणक्रममा गुणस्तरहीन पाइएपछि बस सञ्चालन गरिएको छैन । टेन्डर सम्झौतामा ‘सी–६’ बस ल्याउने उल्लेख छ तर आपूर्तिकर्ता कम्पनीले ‘के–६’ बस ल्याएको छ ।
२० सिट क्षमताका ५ वटै बसको परीक्षण गर्दा १७ वटा गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । सरकारले २ करोडमा खरिद गरेका बीवाईडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणित नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो । –कान्तिपुर दैनिकबाट
