
काठमाडौं, फागुन १२ । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लमजुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।
हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
गोली लागेर दुई जना घाइते भएका थिए । घाइतेहरु स्वास्थ्य लाभ गरेर घर फर्किइसकेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्।
अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइते बानियाँकाे भने नेपालकाे ठेगाना खुलेकाे छैन। त्यहाँको प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलेको विवाद भएको बुझिएको छ।
ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ। मृतक घलेका बुबा-आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भाइ सिंगापुरमा बस्ने बताइएको छ।
