
पोखरा, फागुन १२। पोखरा-३१ वेगनासताल किनारमा आईतवार देखि सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ। “सभ्यता र संस्कृतिका लागि खेलकुद” भन्ने उद्देश्यका साथ वेगनास युवा क्लवले पहिलो पटक फुटबल आयोजना गरेको हो।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मान वहादुर जिसिले खेलकुदको विकासका लागि महानगर सधै तयार रहेको वताएका छन्। वेगनास युवा क्लवले गरेको हरेक कार्यमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्र कुमार वस्यालले युवा हरुलाई सहि वाटो तर्फ लैजानका लागि यस्ता प्रतियोगिता फलदायी हुने बताए । कार्यक्रममा ईप्रका प्रमुख चित्राङत वराल, वडा नं ३१ का वडाध्यक्ष कमल थापा लगायतले बोलेका थिए।
उद्घाटनको दिन भएको पहिलो खेलमा आयोजक बेगनास बि समुहले पहिलो जित दर्ता गरेको थियो। सिर्जना वहिरा मावी लाई पेनाल्टी सुटआउटमा ८-७ को कठिन जित निकालेको हो।
त्यस्तै दोश्रो खेलमा लामा गाउँ बि समुहले प्रगती फुटबल क्लव कास्कीकोट लाई १-२ को जित निकालेको थियो। पहिलो हाफको नतिजा वरावर भएको थियो। दोश्रो हाफमा प्रगतीले मौका गुमाउँदा हार वेहोरेको थियो।
तेश्रो खेलमा बाराही बेगनास लाई आयोजक वेगनास टिम सि ले १-० गोल अन्तरले पराजित गरेको हो। सोमबार बिहान ९ वजे देखि सुरु हुने प्रतिस्पर्धामा ७ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएक छन्।
प्रतियोगिताको विजेताले रु १,०५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५,५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८०००, उच्च गोलकर्ताले ५,०००, उत्कृष्ट प्लेमेकर ५,०००, उत्कृष्ट डिफेन्स ५,०००, र उत्कृष्ट गोल रक्षकले रु ५००० प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता संचालन गर्न रु ८ लाख ५० हजार खर्च लाग्ने र ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ।
