पूर्ण सरसफाई उन्मुख वडा बन्दै लमजुङको भुजुङ गाउँ

Share:

लमजुङ, फागुन १५ । लमजुङको पर्यटकीय गाउँ भुजुङलाई पूर्ण सरकासफाई उन्मुख वडा घोषणा गर्ने तयारी पूरा भएको छ। उक्त गाउँ क्व्होलासोँथर गाउँपालिका वडा नम्बर ४ मा पर्छ। भुजुङ गाउँका घरहरू अनुगमन गरेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुगमन समितिले यही फागुन २९ गते उक्त गाउँलाई पूर्ण सरसफाइउन्मुख वडा घोषणा गर्ने तयारी सुरु गरेको हो।

अनुगमन समितिका सदस्य राजेन्द्र बोहराका अनुसार सरसफाइ अनुगमनमा ८१ प्रतिशत घर अतिउत्तम, १३ प्रतिशत घर उत्तम र ६ प्रतिशत घर सामान्य अवस्थामा छन्। अनुगमन समितिले पूर्ण सरसफाइका सूचकहरूलाई आधार मानी अनुगमन गरेको थियो।

तीन सय १५ घरधुरी रहेको भजुङ गाउँमा वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले पनि हरेक महिना अनुगमन गर्दै आएको वडाअध्यक्ष खिमबहादुर गुरुङले बताए। नेपाल सरकारको सरसफाइ रणनीतिक योजना २०७३ अनुसार पूर्ण सरसफाइका ६ वटा सूचकमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने बानी, सुरक्षित पानी तथा खानाको प्रयोग, सफा घरआँगन र वातावरणीय सरसफाइ छन्।

यी सूचकहरू पूरा गरेपछि पूर्ण सरसफाइउन्मुख वडाअन्तर्गत जिल्लामा चौथो वडाका रूपमा भुजुङ गाउँ रहेकाे क्व्होलासोँथर गाउँपालिकाकाे वडा नम्बर ४ हुने भएको हाे। यसअघि क्व्होलासोँथर गाउँपालिकाका वडा २ मालिङ, वडा ९ गिलुङ र मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ ताघ्रिङ पूर्ण सरसफाइउन्मुख वडा घोषणा भइसकेका छन्।

दिगो विकास लक्ष्य अन्र्तगत नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइउन्मुख मुलुक घोषणा गर्ने लक्ष्य लिएको छ। नेपालको स्वास्थ्य क्षेत्रमा खुला दिसामुक्त अभियान पछिको दोस्रो अभियान पूर्ण सरसफाइ अभियान हो।

कमेन्ट गर्नुहोस्
Share: