पातञ्जल योग समिति कास्कीको ५ दिने योग अभ्यास तालिम सम्पन्न, एक सय २० जना प्रशिक्षार्थी

Share:

पोखरा, १६ फागुन । पातञ्जल योग समिति कास्कीले पोखरामा सञ्चालन गरेको ५ दिने योग अभ्यास तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा योग प्रशिक्षण लिएका एक सय २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत प्रदान गरियो ।

प्रमुख अतिथि सांसद थापाले नेपालमै खोलिएको यस योग समितिलाई आफूले तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । योग असाध्यै राम्रो विषय भन्दै उनले स्वस्थताका लागि पनि योग अभ्यास आवश्यक पर्ने भएकाले आफूले यसको विकासमा आफू सदैव तत्पर रहने विश्वास दिलाए ।

पातञ्जल योग समितिका राष्ट्रिय प्रशिक्षक एवं केन्द्रीय सदस्य दीर्घराज गिरीले योग सम्बन्धी प्रशिक्षण दिएका थिए भने योग दर्शनका ज्ञाता एवं समितिका केन्द्रिय सदस्य दिपक प्रसाद नेपालले सैद्धान्तिक दर्शनका महत्वबारे प्रकाश पारेका थिए ।

यसैबीच, सो अवसरमा समितिको केन्द्रिय सदस्यमा प्रदीप कुमार श्रेष्ठ, गण्डकी प्रदेशको नेतृत्व लक्ष्मण प्रसाद कोइराला र कास्की जिल्लाको नेतृत्व सुरेश श्रेष्ठलाई प्रदान गरिएको जानकारी गराईएको थियो ।

केन्द्रिय सदस्य श्रेष्ठले सबैको उपस्थितिले अब नेपालमा योग साधनाको निमित्त परदेशमा निर्भर रहन नपर्ने भएको आएको भन्दै यसलाई विकास र विस्तार गर्दै मुलुकभर फैलाउनुपर्ने बताए ।

कार्यक्रममा दीपकप्रसाद नेपाल, शिव मल्ल, लक्ष्मणप्रसाद कोइराला, शान्ति श्रेष्ठ लगायतले बोलेका थिए । श्यामलाल श्रेष्ठ, शौरभलाल श्रेष्ठ र रमा श्रेष्ठले भजन प्रस्तुत गरी अध्यात्मिक आनन्द प्रदान गरे । कार्यक्रमको सञ्चालन कमला गुरुङले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: