
पोखरा, फागुन १७। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अन्त्येष्टि गरिएको छ ।
राजकीय सम्मानका साथ शुक्रबार गृहनगर पोखरामा स्थित रामघाटमा उनको अन्त्येष्टि गरिएको हो । दिवंगत अधिकारीको शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् ।
अन्त्येष्टिअघि पोखराको नयाँबजार, महेन्द्रपुल र हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरिएको थियो । अधिकारीको शव शुक्रबारै काठमाडौंबाट पोखरा ल्याइएको थियो ।
नेपालको राष्ट्रिय झण्डा ओढाएर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्थिव शरीरमा सम्मान व्यक्त गरेका थिए।
अन्त्येष्टि गर्नु अगाडी उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागी नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको थियो । मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन प्रदर्शनी केन्द्रमा हजारौंको संख्यामा भिड रहेको थियो ।

