
पोखरा, फागुन १७ । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सकिने भएको छ ।
पोखरा मालेपाटनस्थित निवासमा मन्त्री अधिकारीको काजकिरिया गरिने उनका साथी धनराज आचार्यले जानकारी दिएका छन्। मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेकाले ७ दिन मै सक्ने निर्णय गरिएको हो ।
श्रद्धाञ्जलि सभामा बोल्दै मन्त्री अधिकारीका बाल्यकालका साथी रहेका आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका हुन्। मन्त्री अधिकारीकी धर्मपत्नी विद्या, बुबाआमा र दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको हो।
मन्त्री अधिकारीको काजकिरिया फागुन २१ गते सम्पन्न हुनेछ।
