नेपाली भूमिमा भारतिय उपनिवेशको अन्त्यको माग, सुगौली सन्धि बेलायतलाई बुझाएको दिन आज

2205
0
Share:

काठमाडौँ– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिपूर्वको नेपाली भूमिमा भारतले कायम गर्दै आएको उपनिवेशको अन्त्यको माग गर्दै यो विषय संसदमा छलफलको विषय बनाउन माग गरेको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालले मार्च चारमा तत्कालीन राजप्रतिनिधि मार्फत मकवानपुर छाउनीमा बेलायती प्रतिनिधिलाई सुगौली सन्धिको प्रति बुझाएको दिन भएको र यसको वैधतामाथि केही अहम् प्रश्नहरू उठेकाले नेपाल सरकारसमक्ष सो सन्धिपूर्वको जमिन फिर्ता लिन आग्रह गरेको जनाएको छ ।

सन् १८१६ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेयता २०३ वर्ष बितिसकेका छन् ।

बेलायतले सन् १९४७ र १९४८ मादक्षिण एसियाली क्षेत्र छाडेको ७३ वर्ष भैसकेको छ । ‘यति लामो अन्तरालमा विश्वबाट उपनिवेशको अन्त्य भैसकेको भए पनि नेपालको ५७७३६ वर्ग किलोमिटर क्षेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएको छ’ विज्ञप्तिमा भनिएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत १५ वर्षदेखि सुगौली सन्धिपूर्वको नेपाली भूमिमा भारतले कायम गर्दै आएको उपनिवेशको अन्त्यको माग गर्दै आएको छ ।

नेपाल र बेलायतबिच सुगौली सन्धि हुँदा समान हैसियत भएका व्यक्तिहरूबिच हस्ताक्षर हुनुपर्नेमा नेपालका तर्फबाट राजाले सहीछाप गर्नुपर्ने भनिएपनि बेलायतका तर्फबाट लेफ्टिनेन्ट कर्णेलले हस्ताक्षर गरेका थिए ।
टेबुलमा बसेर सन्धिमा हस्ताक्षर गर्नुपर्नेमा बेलायतका तर्फबाट सुगौलीको सैनिक छाउनीमा हस्ताक्षर गरी नेपालका राजाले १५ दिनभित्र प्रतिहस्ताक्षर गर्नुपर्ने भनी हलकारामार्फत् तत्कालीन नेपाल दरबारमा सन्धिपत्र पठाइएको थियो ।

त्यस्तै नेपालका राजाले १५ दिनभित्रमा हस्ताक्षर गर्नुपर्ने भनिएकोमा ९३ औँ दिनमा मात्र राजप्रतिनिधिमार्फत् सन्धिपत्र बुझाइएको थियोे ।

मोर्चाका अनुसार बेलायतले सन् १९४७ जुलाई १८ को इन्डिया इन्डिपेन्डेन्स एक्ट अनुसार आफ्नो औपनिवेशिक क्षेत्र परित्याग गरेकोमा नेपाली भूमि पनि सन् १९४७ अगस्त १४ र १५ मै स्वतन्त्र भैसकेको हुनुपर्ने थियो ।

त्यस्तै मोर्चाले नेपाल र भारतबिच सन् १९५० जुलाई ३१ मा भएको शान्ति र मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको जनाएको छ । नेपाल र बेलायतबिच सन् १९५० अक्टोबर ३० मा भएको सन्धिको प्रस्तावना र धारा ८ अनुसार पनि सुगौली सन्धि रद्द भैसकेको छ ।

उता, भारतको संविधानको धारा १ (३)(ग) अनुसार नेपाल र भारतबिच सुगौली सन्धिको अनुमोदन हुने गरी कुनै सन्धि नभएकाले उक्त नेपाली भूमिमाथि भारतको कुनै अधिकार नरहने भन्दै नेपाल र भारतबीच सुगौली सन्धि कायम रहनु अवैध भनेको छ ।

उसले सुगौली सन्धि बेलायतसँग भएकाले भारतसँग मान्य हुने कुनै आधार समेत नरहेकाले नेपाली नागरिकहरु ५७,७३६ वर्ग किलोमिटर नेपाली भूमि भारतको कब्जामा किन छ भनेर जान्न उत्सुक भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: