भाइरल ज्वरोले तनहुँमा एकै विद्यालयका ५० विद्यार्थी बिरामी

Share:

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् ।

सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिए । उनका अनुसार विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थी भाइरल ज्वरोबाट पीडित भएका हुन् ।

सबैभन्दा बढी कक्षा १० मा अध्ययनरत १५ विद्यार्थी भाइरल ज्वरोबाट बिरामी परेका छन् । त्यस्तै कक्षा ९ मा अध्ययन गर्ने सात र ६, ७ र ८ का समेत विद्यार्थी ज्वरोबाट पीडित भएको उनले जानकारी दिए ।

उनका अनुसार बुधबार पनि कक्षा ४ र ५ का दुई÷तीन विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको थियो । कक्षा १० का बिरामी हुने सबै विद्यार्थी विद्यालयकै होस्टेलमा बस्ने विद्यार्थी हुन् । उनका अनुसार बिरामी भएका सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको छ ।

बिरामी भएका सबै विद्यार्थीलाई परिवारको रेखदेखमा जिम्मा लगाई उपचार भइरहेको विद्यालयले जनाएको छ । घिरिङ स्वास्थ्यचौकीका स्टाफ नर्स प्रतिमा अधिकारीले विद्यार्थीमा देखिएको समस्या भाइरल ज्वरो र इन्फ्लुएन्जा भएको जानकारी दिईन् ।

उनले भनिन्, “यस्तो समस्या देखिएका विद्यार्थीलाई स्वास्थ्यचौकीबाटै उपचार सेवा दिएका छौँ ।” उनका अनुसार मङ्गलबार ४० विद्यार्थीलाई स्वास्थ्यचौकीबाट उपचार गरिएको थियो ।

हालसम्म स्वास्थ्यचौकीमा भएका औषधीले नै विद्यार्थीको उपचार भइरहेको जानकारी दिँदै उनले औषधी अपुग भए गाउँपालिकाको स्वास्थ्य शाखासँग माग गर्ने तयारी भएको बताए । विद्यार्थीमा यस्तो समस्या भइरहे विद्यालयमै पुगेर उपचार सेवा प्रदान गरिने अधिकारीले जानकारी दिएकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: