
पोखरा। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा गएराति आगलागी हुँदा करोडौंको क्षति भएको छ। क्लब ९९ रहेको घरमा शुक्रबार राति ९ बजेपछि बर्गर क्याफेबाट आगलागी सुरु भएको थियो । आगलागीबाट आधा दर्जन व्यवसायमा क्षति पगेको छ।
क्याफेमा ग्याँसको सिलिण्डर लिक भएर आगो लाग्न सुरु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगो नियन्त्रणमा आउन नसक्दा एक पछि अर्को व्यवसायमा क्षति पुगेको थियो ।
पोखरा माउन्टेन बाईक, माछापुच्छ्रे तन्दुरी, निड्र्स ट्राभल्स एण्ड टुर्स र अमिन सनराईज ह्याण्डिक्राफ्टमा आगलागीले क्षति पुगेको छ ।माथिल्लो तल्लामा रहेको क्लब ९९ पुरै ध्वस्त भएको बताईएको छ । अन्य पसलमा पनि ठुलो क्षति भएको छ ।
आगो नियन्त्रणको लागि स्थानीय, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र पोखरा महानगरपालिकाको दमकल प्रयोग गरिएको थियो । करिव डेढ घण्टा पछि मात्र आगलागी नियन्त्रणमा आएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । क्षतिको विवरण यकिन नभए पनि अनुमानित एक करोड रहेको र अनुसन्धान भईरहेको उनले बताए ।
यो पनि हेर्नुहोस::
