प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति विप्लव आक्रोशित, नेपाल बन्दको घोषणा

2347
0
Share:

काठमाडौं । सरकारले बल प्रयोग गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि रोक्ने चेतावनी दिएपछि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विल्पव’ थप आक्रोशित बनेका छन् ।

केही समय यता विप्लवको आधार इलाका मानिएका क्षेत्रमा प्रहरीले छापा मारिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजक अभिव्यक्ति दिइरहेको भन्दै चन्द आक्रोशित बनेका हुन् ।

पछिल्लो पटक कपिलबस्तु स्थित विप्लवको घरलाई लक्षित गर्दै प्रहरीले छापा हानेर अत्याधुनिक हतियार र गोली गठ्ठा बरामद गरेको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका थिए ।

त्यसलगत्तै (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव र उनको पार्टीका विरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए । सिके राउतसँगको राजनीतिक सहमति घोषणा समारोहमा प्रधानमन्त्री ओलीले विप्लवलाई आफ्नो पार्टीको नाम लुटेरा समूह राख्न सुझाव दिएका थिए ।

विप्लवले विज्ञप्ति जारी गरेर सरकारका विरुद्ध नेपाल बन्दको घोषणा गरेका हुन् । ‘सरकारको रक्तपिपाशु र दमनपूर्ण व्यवहारको घोर निन्दा गर्दै आगामी फागुन ३० गते नेपाल बन्दको घोषणा गरेका छौँ’ विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: