मुस्ताङमा निरन्तर हिमपात : सयौँ भेडाच्याङ्ग्रा र चौँरीगाई मरे, यातायात सेवा प्रभावित

Share:

मुस्ताङ ।  पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयौँ भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् ।

आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चौँरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् । मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयौँको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घमी र समरको लेक, किमखर्कलगायतका ठाउँका गोठमा पालिएका भेडाच्याङ्ग्रा र चौँरीगाई पनि मरेका छन् । बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताए ।

उनका अनुसार वस्तुभाउ मर्ने क्रम निरन्तर जारी छ । माघ दोस्रो हप्तादेखि फागुन दोस्रो हप्तासम्म निरन्तर हिमपात भएको थियो ।

घरमा पालिएका वस्तुभाउलाई सुख्खा नल, पराल खुवाए पनि ठूलो सङ्ख्यामा व्यावसायिकरुपमा पालिएका भेडाच्याङ्ग्रा र चौँरीगाईलाई आहाराको अभाव भएको हो । सडकमा हिउँ जमेकाले उपल्लो मुस्ताङ यातायात सेवाबाट पनि सम्र्पक विच्छेद भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: