
काठमाडौं ।नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वाइडबडी विमानमा भएको भ्रष्टाचार र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ।
अख्तियारले वाइडबडी खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गर्न संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार छानबिन शुरु गरेको हो ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सोमबार बसेको समिति बैठकमा अख्तियारले पठाएको पत्र पढ्दै छानबिन प्रक्रिया तीव्र पारिएको जानकारी दिएका हुन।
समिति सदस्य सूर्य पाठक लगायतले वाइडबडीको छानबिनमा भएको प्रगतिबारे जानकारी दिन भनेपछि सभापति शाहले अख्तियारले पठाएको पत्र पढेका हुन।
सभापति शाहले पत्रमा उल्लेख गरिएका कुराबारे भने, ’वाइडबडी छानबिनका कागजात पटकपटक मगाएर अनुसन्धान अगाडि बढेको छ। अख्तियारका सहसचिवको नेतृत्वमा तीन अधिकृतले छानबिन गरिरहनुभएको छ।’
वाइडबडी खरिदको अनियमिततामा संलग्न कर्मचारी र वायुसेवा निगमका पदाधिकारीसँग पनि बयान लिने काम शुरु भएको पत्रमा लेखिएको सभापति शाहले जानकारी दिए ।
