मुस्ताङमा हिमपात : १४ सय पशुचौपाया मरे, दुई करोड बढी क्षति

Share:

मुस्ताङ । पुस दोश्रो सातादेखि डेढ महिनासम्म भएको लगातारको हिमपातले मुस्ताङमा मात्रै झण्डै १४ सय पशु चौपाया मरेका छन्। चरणमा छाडिएका पशु चौपाया हिउँमा पुरिएर मरेपछि किसानको करोडौंको क्षति भएको छ।

मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङका क्षेत्रका किसानले पालेका चौरी, भेडा, च्यांग्रा, याक लगायतका पशु हिमपातको बेला चरण अभाव र हिउँ पहिरोमा परेर मरेका हुन्। हिउँमा परेर कति पशु चौपाया मरे यकिन विवरण अझै नआएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले बताए।

लोमाथाङ गाउँपालिका ३, ४ र ५ मा मात्रै अहिलेसम्म १४ सय पशु मरेको अबस्थामा भेटिएको उनले जानकारी दिए । सो क्षेत्रम अहिलेसम्म नौ सय ८६ भेडा, एक सय २० च्यांग्रा, एउटा चौरी गाई, २९ गाई, २३ गोरु, २ सय २४ याक मरेको अबस्थामा फेला परेका छन्।

मुस्ताङमा एउटा भेडाको मूल्य १५ हजार र च्यांग्राको २० हजार पर्छ। त्यस्तै एउटै चौरीको मूल्य ८० हजार रुपैयाँसम्म पर्ने गर्दछ। याकको मूल्य कम्तिमा एक लाख २० हजार रुपैयाँ पर्छ। प्रजिअ रेग्मीले किसानको क्षति विवरण संकलनको काम भइरहेको बताए।

क्षति बारे गृह र कृषि विकास मन्त्रालयलाई जानकारी गराएर किसानलाई राहतको लागि पहल गरिने रेग्मीको भनाई छ । पशु चौपाया मर्दा किसानलाई दुई करोड रुपैयाँभन्दा धेरै क्षति भएको छ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: