अटेरी गर्ने पोखराका दुई प्याराग्लाइडिङ कम्पनी बन्द

Share:

पोखरा । दर्ता तथा नवीकरण गर्न अटेरी गर्ने पोखराका दुई प्याराग्लाइडिङ कम्पनी बन्द भएका छन्। दर्ता हुन् अटेरी गर्ने एड्भान्स प्याराग्लाइडिङ र गोल्डेन हेभन प्याराग्लाइडिङ बन्द गरिएको हो ।

धेरैपटक समय दिएपनि अटेरी गरेकाले कारबाही स्वरुप बन्द गरिएको राजश्व शाखाका आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायले जानकारी दिए । पोखरा महानगरमा सोमबारसम्म ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएको उनले जानकारी दिए ।

महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मको म्याद तोकेको थियो । पटकपटक म्याद दिँदा पनि अटेरी गरेपछि महानगरले कारबाही प्रक्रियामा जाने योजना बनाएको थियो ।

पछिल्लो पटक तोकिएको म्यादमा समेत जम्मा २४ वटा कम्पनीले मात्रै व्यवसाय दर्ता गरेका थिए । महानगरले अटेरी गर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाउन वडा नम्बर १८ सँग सहकार्य गरिरहेको छ ।

हालसम्म ५६ वटा कम्पनीले प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएको भए पनि ४० वटा मात्रै सक्रिय छन् । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ लिन्छ ।

महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति दिने गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: