
श्यामशितल परियार, लमजुङ । जिल्ला सामुदायिक अस्पताल लमजुङमा बिरामीको चाप बढ्दै गएको छ । मौसममा आएको परिवर्तनसंगै अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको हो ।
गर्मी लागेसंगै विशेषगरी अस्पतालमा ज्वरो, रुघाखोकी, पेट दुख्ने र दमका बिरामीहरु बढी मात्रामा आउने गरेको अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचारका लागि अहिले दैनिक झण्डै तीन सय बिरामी जाने गरेका छन् ।
यो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये बालबालिका र वृद्धवृद्धाहरु धेरै छन् । वृद्धवृद्धा र बालबालिकामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता तुलनात्मक रुपमा कमजोर हुने भएकाले उनीहरुमा छिटै संक्रमण हुने अस्पतालका मेडिकल अफिसर डा.सुलोचन पन्तले बताए ।
उनका अनुसार बालबालिकामा सुक्खा खोकी लाग्ने, श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएको छ । यस्तै, वृद्धवृद्धाहरुमा दम, छाती दुख्ने, पेट दुख्नेजस्ता स्वास्थ्य समस्या देखिएको छ । मौसमी संक्रमणबाट बच्न खानपान र सरसफाईमा उचित ध्यान दिनुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।
