को बन्ला तेस्रो सिजनको ‘हस्पिटालिटी नेपाल’ ?

Share:

बिग न्यूज

पोखरा, ७ चैत । ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो सिजनको ‘ग्राण्ड फिनाले’ चैत ९ गते हुने भएको छ । ‘ग्राण्ड फिनाले’को तयारी लगभग सकिएको आयोजक ‘एपी इन्टरटेनमेन्ट’ले जनाएको छ । यो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको ग्राण्ड फिनालेका लागि १८ जना प्रतिस्पर्धीहरु भिड्दैछन् ।

ग्राण्ड फिनालेका लागि करिब डेढ महिनाको बन्द प्रशिक्षणमा रहेर प्रतिस्पर्धीहरुले तयारी गरिरहेको आयोजकले बताएको छ । ‘हामीले प्रतिस्पर्धीहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै हस्पिटालिटी क्षेत्रमा करिअर बनाउन सकिने आधारहरु प्रशिक्षणको क्रममा सिकाएका छौँ । सम्बन्धित विषयमा विज्ञ व्यक्तित्वहरुलाई हामीले प्रशिक्षकको रुपमा ल्याएका थियौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘अब यो सिजनको अन्तिम क्षणमा हामी करिब आईपुगेका छौँ ।’

ग्राण्ड फिनालेमा भिड्नका लागि १० जना युवती र ८ जना युवकहरु अहिले तम्तयार छन् । यो बीचमा सिकेका कुराहरुलाई उनीहरुले ग्राण्ड फिनालेमा प्रस्तुत गर्नुपर्नेछ । ग्राण्ड फिनालेमा प्रमुख निर्णायकको रुपमा पाइलट बिजय लामा रहने आयोजकले बताएको छ । र, अन्य सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि ग्राण्ड फिनालेमा निर्णायकको रुपमा पेश गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद सहित वैदेशिक भ्रमणको प्याकेज प्राप्त गर्नेछन् । त्यो सँगै हस्पिटालिटी क्षेत्रमा काम गर्ने र अध्ययन गर्ने प्याकेज पनि विजेताले प्राप्त गर्ने आयोजकले बताएको छ । आयोजकले प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कृत गर्ने जनाएको छ ।

शनिबार पोखरा न्यूरोडस्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको पोखरा स्काइ स्पोर्ट्स क्लबमा ग्राण्ड फिनाले हुदैछ । ग्राण्ड फिनालेलाई भव्य बनाउन तयारी तीव्र पारिएको आयोजकले बताएको छ ।

यसैबीच हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुले बुधबार होली मनाएका छन् । लेकसाइडस्थित क्राउन हिमालयज होटलमा उनीहरुले आपसमा रंग दलेर खुशी साटासाट गरे । र, आपसमा ग्राण्ड फिनालेका लागि शुभकामना पनि साटे ।

कमेन्ट गर्नुहोस्
Share: