आठ महिनामा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही

Share:

तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महिनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ ।

वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो ।

केन्द्रका प्रमुख शिव गोशलीले अनधिकृत बिजुली प्रयोग गर्ने ग्राहकबाट कारवाहीस्वरुप रु तीन लाख ४७ हजार १४९ असुल गरिएको जानकारी दिए ।

केन्द्रले चालू आर्थिक वर्षमा २७४ मिटर परिवर्तन गरेको छ भने ७०० ग्राहकको मिटर रिसिलिङ तथा करीब एक हजार ग्राहकको मिटर छड्के निरीक्षण गरेको गोशलीले बताए।

ठूला औद्योगिकलगायत ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा करीब रु ३९ लाख २० हजार ३९२ बराबरको छुट युनिट रकम बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५९६ बराबरको छुट युनिट रकम स्वीकृत भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुली भइरहेको छ । गोशलीका अनुसार केन्द्रले विद्युत् चुहावट घटाउन उल्लेख्य सफलता प्राप्त गरेको छ ।

गत आर्थिक वर्ष २०७४ साउनमा २४.८८ प्रतिशत विद्युत् चुहावट रहेकामा २०७५ माघसम्म ७.०४ प्रतिशत कायम राख्न वितरण केन्द्र सफल भएको गोशलीले बताए ।

आर्थिक वर्ष २०७४/७५ को समग्र विद्युत् चुहावट १६.६७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको माघसम्म विद्युत् चुहावट ९.१३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ । गोशलीका अनुसार विद्युत् चुहावटमा नियन्त्रण कडाई गरिएको कारण विद्युत् चुहावट घटेको हो ।

कमेन्ट गर्नुहोस्
Share: