सस्तो, बलियो र छिटो संरचना निर्माण गर्न ‘एएसी ब्रिक’

Share:

रेम बिक
पोखरा, ८ चैत । कुनै संरचना निर्माण गर्दा आवश्यक निर्माण सामाग्री कस्तो छान्ने ? बजारमा अहिले थुप्रै विकल्पहरु भेटिन्छन ।

परम्परागत शैलीमा संरचनाहरु निर्माण भैरहँदा आउने विभिन्न समस्याहरु बजारमा आएका नयाँ विकल्पहरुमा आउँदैनन् । त्यसैले विभिन्न कम्पनीहरुले यस्तै निर्माण सामाग्रीहरुको बजारिकरण गरिरहेका छन् ।

यस्तै एउटा निर्माण सामाग्री हो, एएसी ब्रिक (अटोक्लेभ्ड एइरेटेड ब्लक) । उच्चतम भारवहन क्षमता भएको यस्तो खाले ब्लक प्रयोग गरेर संरचना निर्माण गर्ने क्रम पछिल्लो समय बढेको छ । खासगरि यो ब्लक जर्मनमा उत्पादन गरि सफल परिक्षणपश्चात विश्वबजारमा उदाएको हो । र, यही शैलीको ब्लक अहिले नेपालमा पनि भित्रिसकेको छ ।

खरानी र बालुवाबाट बन्ने यस्तो खाले ब्लकको नेपालमै उत्पादन हुन थालेको छ । एरो ब्रिक्स नामक कम्पनीले चितवनमा प्लान्ट खोलेर यस्तो खालको ब्लक उत्पादन थालेको करिब ३ वर्ष पुगिसक्यो । यो बीचमा कम्पनीबाट उत्पादन भएका ब्लकमार्फत थुप्रै संरचनाहरु निर्माण भैसकेका छन् ।

साइज ठुलो र वजन हलुका हुने भएकोले यो ब्लकबाट काम गर्दा निकै छरितो तरिकाले संरचना सकिने कम्पनीको दाबी छ । ‘परम्परागत ढुंगा र माटोको इट्टा प्रयोग गरि बनेका संरचनाहरुको भार निकै बढि हुने र निर्माण अवधी पनि लामो समय लाग्ने सबैको अनुभव छ । तर हाम्रो यो उत्पादन सबैतिर सस्तो, राम्रो र उपयुक्त छ ।’ कम्पनीका मार्केटिङ म्यानेजर गोबिन्द रिमालले भने ।

पोखराको लागि अझै उपयुक्त

त्यसो त यो ब्लकको प्रयोग गरि पोखरामा पनि थुप्रै संरचना निर्माण भैसकेका छन् । यद्यपी कम्पनीले पोखराको भुबनोट अनुसार यो ब्लक यहाँ निर्माण हुने संरचनाका लागि अझै बढि उपयुक्त भएको दाबी गरेको छ ।

‘हाम्रो कम्पनीबाट उत्पादिन ब्लकहरु हिऊँ पर्ने ठाऊँदेखि अत्याधिक गर्मी हुने ठाऊँसम्म जस्तो वातावरणमा पनि प्रयोग गर्न सकिन्छ । यो जहाँ पनि फिट छ ।’ मार्केटिङ म्यानेजर रिमालले भने–‘पोखराको हकमा त झन एएसी ब्लक सबैभन्दा बढि मैत्रीपूर्ण छ ।’ पोखराको कमजोर भुबनोटले धेरै भार थेग्न नसक्ने भएकोले अब बन्ने संरचना यस्तै कम वजनदार आक ब्लककै माध्यमबाट गर्न सके राम्रो हुने उनले सुझाए ।

पोखरा र यस क्षेत्रमा ‘होम स्विट होम’ले यो ब्लकको विक्रि गर्दै आएको छ । हलुका वजन, भूकम्प प्रतिरोधात्मक, ध्वनी प्रतिरोधक, अग्नी प्रतिरोधक र ओस प्रतिरोधक निर्माण सामाग्री भएकोले यसलाई आवासिय भवनसँगै थिएटर, रेस्टुरेन्ट, होटल, क्लब लगाएत ठुला संरचनामा पनि उपयुक्त भएको कम्पनीले जनाएको छ ।

कस्तो छ प्रयोगकर्ताको प्रतिक्रिया ?

त्यसो त पोखरास्थित डिलर ‘होम स्विट होम’का संचालक सुजन जोशीका अनुसार ब्लकको माग दिनानुदिन बढ्दो छ । यस क्षेत्रमा पछिल्लो केहि समयभित्रै ३ सय भन्दा बढि संरचनाहरु यही ब्लकको प्रयोग गरि निर्माण भैसकेका छन् ।

कम्पनीका सहायक सेल्स एण्ड मार्केटिङ म्यानेजर दिपेन्द्र पोखरेलका अनुसार ब्लक प्रयोग गरेका व्यक्तिहरुले यो निकै गज्जब रहेका प्रतिक्रिया दिएको बताउँछन् । संरचना निर्माणमा लाग्ने लागत पनि यो ब्लक प्रयोग गर्दा कम भएको निर्माण व्यवसायीहरुले बताएको उनको दाबी छ ।

त्यसो त पोखरेल आफै पनि यो कुरा सहि भएको दाबी गर्छन् । ‘छिटो र कम निर्माण सामाग्री प्रयोग गरेपछि अवश्य नै लागत कम हुन्छ नै । र, हामीले यो कुराको ग्यारेन्टी दिन सक्छौँ कि, परम्परागत निर्माण सामाग्री प्रयोग गर्दाभन्दा ३० प्रतिशतले लागत घट्छ ।’ उनले भने ।

आक ब्लकको ईतिहास

जर्मनमा औद्योगिक क्रान्ति भईरहँदा त्यहाँ एउटा समस्या आईप¥यो । त्यो थियो, उद्योगबाट आउने धुँवा र धुलो (खरानी) । समस्याको रुपमा खडा भएपछि त्यहाँको सरकारले खरानी जथाभावी नफाल्न उद्योगहरुलाई भन्यो । र, उद्योगहरुले पनि खरानी जम्मा पारेर राख्न थाले । तर थुप्रिँदै गएपछि खरानी पनि राख्ने ठाऊँ हुन छाड्यो ।

‘अब के गर्ने त ?’ यही प्रश्नको उत्तरको रुपमा एएसी ब्लकको उत्पादन शुरु भएको हो । र, पछि यो विश्व बजारमा निकै चर्चित पनि बन्यो । हलुका, सस्तो, बलियो र वातावरणमैत्री भएकोले यसले बजार लिन समय नै लागेन ।

अहिले नेपालमा पनि जर्मन प्रविधिमै एएसी ब्लक उत्पादन हुँदै आएको छ । यद्यपी नेपालमा दुई प्रकारका एएसी ब्लकहरु उत्पादन हुँदै आएका छन् । खरानी बेस्ड एएसी ब्लक र बालुवा बेस्ड एएसी ब्लक । नेपालमा बालुवा बेस्ड एएसी ब्लकलाई बढि रुचाईएको छ । यो ब्लक निर्माण गर्नका लागि बालुवा, सिमेन्ट, चुना, जिप्सम र आलमुनियम प्रयोग हुन्छ । नेपालमा उत्पादन गर्दै आएको कम्पनी एरो ब्रिक्सले दैनिक ५ सय घनमिटर ब्लक उत्पादन गरिरहेको छ । उसले ३ वटा साइजको ब्लक उत्पादन गर्छ । हाल पोखरा र आसपासका क्षेत्रमा मात्रै मासिक ५० लाख भन्दा बढि मुल्यको एएसी ब्लक विक्रि हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: