
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा महिलाको नेतृत्वमा पदमार्ग निर्माण गरिएको छ । महिलाले नाचगान गरेर जुटाएको पैसा परिचालन र श्रमदान जुटाएर पदमार्ग बनाएका हुन् ।
जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरिएको छ । करीब रु १० लाखको लगानीमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको समूहकी सदस्य मायादेवी पाइजाले जानकारी दिइन।
उनका अनुसार डेढ मिटर चौडाइ भएको पदमार्ग निर्माणमा रु नौ लाख ६३ हजार ८७० खर्च भएको छ । पदमार्ग निर्माण उपभोक्ता समितिमा पदाधीकारी र सदस्य सबै महिला छन्।
गाउँपालिकाले रु एक लाख ९८ हजार अनुदान उपलब्ध गराएको पदमार्ग बनाउन आमा समूहको कोषमा रहेको रु तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप रु तीन लाख ६० हजार ४४० जुटाइएको छ । ४३ घरधुरीले रु ४६ हजार ५०० बराबरको श्रमदान गरेका छन् ।
गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, विवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो बनाएको पाइजाले बतईंन । आर्थिक स्रोत र श्रमदान जुटाउन महिलाले नै नेतृत्व गरेका थिए ।
उनीहरुले यसअघि पनि रघुगङ्गा गाउँपालिकाको तिप्ल्याङदेखि दोसल्लेसम्म दुई किलोमिटरभन्दा बढी घोडेटो बाटो बनाएका थिए ।
सिँढीसहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लिएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ । बालबालिका र वृद्धवृद्धाले पनि सजिलै हिँड्डुल गर्न पाएका छन् ।
