
पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी १४ वर्षीया बालिका सुनिता रिजाल विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी सुनिता अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् ।
गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिए।
साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिए । सबै तिर खोजतलास गर्दा पनि नभेटिएको रिजालले बताए ।
उनीहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन्। परिवारले सोमबार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् । यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जनाएको छ ।
महानन्दका चार छोरी र पाँच छोरा छन् । उनी कान्छी छोरी हुन्। झट्ट हेर्दा सुस्त मनस्थिति भएकी जस्ती देखिने बालिका एक्कासी सम्पर्कविहीन भए पछि परिवार चिन्तित बनेको छ ।
