लमजुङमा करेन्ट लागेर एक किशोरको मृत्यु

Share:

लमजुङ । लमजुङको मध्य नेपाल नगरपालिका–४ दोपहरेमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । स्थानीय मालिका आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय अनमोल थापाको आज बिहान करेन्ट लाग्दा मृत्युु भएको हो ।

थापा मध्य नेपाल नगरपालिका–५, सिम्लेका हुन् । थापा परीक्षा दिन विद्यालय गएपनि घन्टी बज्नुअघि विद्यालयभन्दा माथि ऐंसेलु खान कक्षा ७ मा पढ्ने साथी रजन पण्डित क्षेत्रीसँग गएका थिए । थापा चिप्लेर तल खस्दा बिजुलीको पोलमा छुन पुगेपछि करेन्ट लागेको उनका साथी रजनले बताए ।

उनका अनुसार अनमोललाई करेन्ट लागेपछि रजनले अनमोललाई तान्दा रजन उछिट्टिएका थिए । त्यसपछि उनी गाउँतिर गएर गाउँलेलाई खबर गरे । गाउँलेले विद्युत प्राधिकरण, दमौलीलाई विद्युत बन्द गर्न लगाएपनि त्यतिञ्जेल सम्म उनको मृत्यु भइसकेको थियो ।

नेपाल प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणले बिमा रकम ५ लाख रुपैयाँ दिने प्रक्रिया अघि बढाएको बताइएको छ । यस्तै, मध्य नेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले नगरपालिकाका तर्फबाट केही सहयोग गर्ने आश्वासन दिएको पीडित परिवारले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: