भत्ता बाँड्न पोखरा आए गाउँपालिकाका कर्मचारी

Share:

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि जनप्रतिनिधि र कर्मचारी प्रदेश राजधानी पोखरा आउने गरेका छन् ।

पोखरामा बसोबास गर्दै आएका तर कागजीरूपमा बसाइँसराइ नगरेका ज्येष्ठ नागरिकलाई हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पोखरा आउने गरेका हुन् ।

नीतिगतरूपमा नमिल्ने भए पनि सेवाग्राहीको सुविधाका लागि व्यावहारिकता हेरेर पोखरा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने बाध्यता रहेको वडा सचिव कृष्णबहादुर विश्वकर्माले बताए ।

हाल अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने राम्चे, काफलडाँडा, महभिर, नांगी, थावनका ३० ज्येष्ठ नागरिक पोखरामा बसोबास गर्छन् । भौगोलिक हिसाबले विकट र दुर्गम क्षेत्रमा पर्ने राम्चेमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या २८६ जना छ ।

“पोखरामा पुगेर भत्ता वितरण गर्दा लाभग्राहीलाई सुविधा र सजिलो भए पनि कर्मचारी र जनप्रतिनिधिलाई भने समस्या छ,” वडा सचिव विश्वकर्माले भने, “बैंकमा खाता खोलेर भत्ता वितरण गर्ने व्यवस्था मिलाउन सकेमा समयको बचत र झन्झट हट्ने थियो ।”

आठ वटा वडा रहेको गाउँपालिका–२ मा पर्ने भुरुङ्ग तातोपानी र ५ नं वडा शिखका लाभग्राहीलाई गरिमा विकास बैंकको पोखरेबगर शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ ।

सामाजिक सुरक्षा वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आगामी आर्थिक वर्षभित्र सबै वडाका लाभग्राहीको बैंकमा खाताबाट उपलब्ध गराउने व्यवस्था मिलाउन लागिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: