प्रदेशसभामा बिन्दु थापाको १६ महिने अनुभवः ‘पार्टीगत स्वार्थमा विकास निर्माणका योजना’

Share:

रेम बिक
पोखरा, १८ चैत । गैरकम्युनिष्ट भएकै आधारमा विकास निर्माणका कामबाट पन्छाउने काम अहिलेको दुई तिहाई सरकारले गरेको प्रदेश संसद बिन्दुकुमार थापाको अनुभव छ । त्यसो त पछिल्लो चुनावमा कास्की जिल्लाभरिबाटै काँग्रेसको तर्फबाट थापाले मात्रै जित निकालेका थिए ।

यो बीचमा प्रदेशको विभिन्न तह र तप्कामा रहेर उनले काम गरिसके । प्रदेशको नामाकरण गर्ने समितिको नेतृत्व गरेर त्यसलाई पार लगाईसकेका थापाले प्रदेश सभासदको रुपमा १६ महिना बिताईसके । यद्यपी उनलाई सरकारको नेतृत्वले भने उपेक्षा गरेको भान भईरहन्छ ।

सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो १६ महिने कार्यावधीमा गरेका कामको विवरण पेश गर्दै प्रदेश सभासद थापाले यस्तो गुनासो गरेका हुन् । ‘विकासको सवालमा पार्टीलाई भन्दा पनि जनतालाई अगाडि ल्याउनुपर्छ । नेतृत्वमा भएको भन्दै आफ्ना कार्यकर्ता भएका स्थानमा मात्रै विकासका योजनाहरु पार्नुपर्छ भन्ने मान्यताबाट म निकै टाढा छु ।’ उनले भने–‘विकास भएपछि सबैलाई उत्तिकै सहज हुन्छ । विकासले तेरो र मेरो भन्दैन भन्ने मेरो मान्यता हो ।’

यद्यपी यो १६ महिने अवधीमा प्रदेश सरकारको नेतृत्वसँगै स्थानियस्तरका जनप्रतिनीधिहरु पनि पार्टीगत स्वार्थबाट अत्याधिक प्रेरित भएको उनले पाए । ‘म नीजि क्षेत्रबाट राजनीतिमा आएको हुँ । हो, मैले नेपाली काँग्रेसको प्रतिनीधित्व गर्छु, तर मलाई विकासको काममा कुनै पार्टीगत स्वार्थ छैन ।’ उनले भने ।

यद्यपी आफूले यो १६ महिने अवधीमा विभिन्न अवरोधहरुका बावजुद पनि जनतालाई चुनावको बेलामा गरेको प्रतिबद्धताअनुसार काम गरेको थापाले दाबी गरे । यो बीचमा गरेका कामहरुको बेलिविस्तार लगाउँदै थापाले यी सबै कामका लागि भने आफूले सर्वदलीय सहमती लिएको प्रस्ट पारे ।

१६ महिनामा बिन्दु थापाले गरेका कामहरु :

आफ्नो क्षेत्र (कास्की क्षेत्र नम्बर २ ‘ख’) भित्र महानगरकै ६ वटा वडाहरु पर्ने भएपनि विकासको पूर्वाधारको हिसाबले पछाडि रहेको भन्दै उनले सोही क्षेत्रको विकासका लागि आफूले यो बीचमा काम गरेको बताए । प्रदेश नमुना सडक (जसले पोखराको ११ नम्बर वडा, २० नम्बर वडा र १६ नम्बरलाई छुन्छ)का लागि २ करोड १० लाख रुपैयाँ बजेट प्रदेशमार्फत आफ्नै पहलमा छुट्याएको उनले पत्रकार सम्मेलनमा बताए ।

त्यो बाहेक पोखरा १६ जुम्लेटी जोगिमणीमा संचालन हुन लागेको नमुना कृषि गाऊँ कार्यक्रमका लागि ३० लाख, पोखरा वडा नम्बर ४ मा मन्दिर, बाटो तथा ढल निर्माणका लागि ८० लाख, वडा नम्बर ८ मा आकाशे पुल र जनप्रिय क्याम्पसमा प्रयोगशाला निर्माणका लागि ६१ लाख रुपैयाँ आफ्नै पहलमा छुट्याएको उनले बताए ।

त्यसैगरि विकास निर्माणतर्फ नै वडा नम्बर ९ का लागि ७० लाख, ११ का लागि ३५ लाख, १६ का लागि १ करोड ४५ लाख र २० का लागि विभिन्न शीर्षकमा ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिए । ‘हामी अहिले प्रदेश संरचनाको ट्रायल फेजमै छौँ । र, यो अवधीमा उल्लेख्य प्रगति गर्न नसकेको यथार्थ हो । यद्यपी हामी सिक्दै छौँ र अझै राम्रा कामहरु गर्दै जानेछौँ ।’ थापा प्रतिबद्ध सुनिए ।

थापाले यो बीचमा विभिन्न संघसंस्था र सामाजिक कार्यमा सहयोगी हात पनि अगाडि बढाए । उनले आफूले गरेको सहयोगको विवरण पनि पत्रकार सम्मेलनमा पेश गरे । विवरणअनुसार यो बीचमा उनले १० लाख ५४ हजार ६ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ । निर्वाचित भएपछि सरकारले दिने तलब भत्ताबापतको रकम नलिने घोषणा गरेका थापाले सोही जम्मा भएको रकमबाट आर्थिक सहयोग गरेको बताए । यो बीचमा उनको वैठकभत्ता, पारिश्रमिक र अन्य सुविधासहित गरेर ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ जम्मा भएको थियो । तर उनले सो रकमभन्दा पनि बढि व्यक्तिगत रुपमा थप गरि सहयोग गरेको देखिन्छ ।

प्रदेशलाई केन्द्रले हेर्ने नजर नै नराम्रो

साथै उनले प्रदेशलाई हेर्ने केन्द्रीय नजर पनि राम्रो नरहेको बताए । उनले यस्तो सोँचका कारण संघीयता नै धरापमा पर्ने चेतावनी समेत दिए ।

‘पात्र फेर्नु र व्यवस्था फेर्नु फरक कुरा हो ।’ थापाले भने–‘तर यहाँ त पात्र मात्रै फेरिएका छन् । व्यवस्था फेरिएको अनुभूत गर्न न जनताले पाएका छन्, न त प्रदेशका जनप्रतिनीधिहरुले नै ।’ उनले व्यवस्था परिवर्तन भएको कुरा व्यवहारमै देखाउन सके मात्र राम्रो हुने तर्क राखे ।

कमेन्ट गर्नुहोस्
Share: