लहरे तरकारी खेतिको तयारीमा जुटे बाघमाराका कृषक

Share:

पोखरा। वर्षात् शुरु भएसँगै यतिखेर पोखरा–३३ स्थित बाघमाराका कृषक लहरे तरकारीको तयारीमा जुटेका छन् । बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु कृषकको दैनिकी बनेको छ ।

कृषकले दूध तथा तरकारीको व्यवसायबाट आयआर्जन गर्न सफल बनेको बाघमाराका अगुवा कृषक खगेन्द्रराज अधिकारीले बताए। जलवायु परिवर्तनका कारण वर्षेनी मौसममा हुँदै गएको परिवर्तनसँगै यहाँको तरकारी उत्पादन हुने क्रममा पनि परिवर्तन आएको छ ।

केही बर्ष अघि दाल र पिडालु उत्पादन हुने बागमारामा पछिल्लो समय गोलभेँडा र लहरे तरकारीको उत्पादन वढेको छ । बढ्दो शहरीकरणका साथै मुलुकका अधिकांश स्थानमा कृषिप्रतिको अनिच्छा बढिरहेको समयमा व्यावसायिकताले अझै गति लिँदै गएको कृषक ठाकुरप्रसाद आचार्यले बताए ।

तरकारी खेतीका साथै दूधलाई लक्षित गरी व्यावसायिक रुपमा नै पशुपालनको क्रमसमेत तीव्रता पाएको छ । यतिवेला आकाशे पानीको सहयोगमा घिरौँला, चिचिन्डा, लौका, फर्सी, सिमी, बोडीलगायतका लहरे तरकारीको उत्पादन गरिने गरिएको छ ।

बढ्दो व्यावसायिकताप्रतिको आकर्षणलाई आत्मसात् गर्दै पोखरा–३३ ले कृषिका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए ।

“कृषकलाई उत्पादन सहजरुपमा बजार पु¥याउन सडक पूर्वाधार विकासमा जोड दिएका छौँ”, उनले भने “हामीले भरतपोखरीको तल्लो भागको समथर भूभागलाई गाईपालनको पकेट क्षेत्र र माथिल्लो भागलाई बाख्रा तथा कुखुरापालनको पकेट क्षेत्र बनाउन लक्ष्य राखेका छौँ ।”

कृषकलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले बाघमाराका पुष्प बस्ती, शिव बस्ती र तिक्लाङमा डिप बोरिङ गरिएको छ ।

वडाध्यक्ष आचार्यका अनुसार भरतपोखरीको अत्यधिक उत्पादनयोग्य सुरौदी क्षेत्रमा बाँझिदै गएका खेतमा खेतीका साथै व्यावसायिक पशुपालन लक्षित गरी गोठ बनाउने कृषकका लागि वडाका तर्फबाट छाना राख्ने सहयोग गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: