
स्याङ्जा । वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गको आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गर्ने काम अगाडी बढाएको छ ।
स्याङ्जाकै मध्य भागमास्थित वालिङ नगरपालिकाले भिरको नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने कार्यको शुरुवात गरेको हो ।
स्मार्ट वालिङ बनाउने अभियानका साथ अगाडि बढेको नगरपालिकाले आफ्नो नगरभित्र पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनको बनाउने उद्देश्यका साथ सडक चौडा गर्ने अभियानमा लागेको हो ।
करीब १२ किलो मिटरभित्र पर्ने ३१ वटा घुम्तीलाई चौडा गर्ने योजनाका साथै काम भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख दिलीप्रताप खाँणले सडक साँघुरो हुँदा दुर्घटनाको सम्भावना उच्च रहेकाले ‘स्मार्ट सिटी’ अवधारणाका साथ अगाडि बढेको बताउँदै सडक विस्तारको काम तिव्र रुपमा अगाडि बढिरहेको जानकारी दिए ।
अहिले दैनिक १२ घण्टा सडक विस्तारको काम भइरहेको छ भने पक्की संरचना निर्माण भएको ठाउँमा १६ मिटर र अन्य ठाउँमा २५ मिटर सडक चौडा गरिने नगरपालिकाले जनाएको छ ।
सडक चौडा गरिएसँगै बजार क्षेत्रमा पैदल यात्रीका लागि फुटपाथ समेतको निर्माण गर्ने नगरपालिकाको योजना छ ।
वालिङ नगरपालिकालाई स्मार्ट नगरका रुपमा स्थापित गर्नका लागि समग्र पक्षको विकास आवश्यक रहेको बताउँदै नगरप्रमुख खाँणले यो सडक विस्तार कार्य पनि त्यसैको एउटा अभियान भएको उल्लेख गरे ।
File Photo
