बैंगलोरको हारको श्रृंखला जारी, सन्दिपको दिल्ली विजयी

Share:

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई दिल्ली क्यापिटल्सले ४ विकेटले हराएको छ । यो बैंगलोरको लगातार छैठौं हार हो ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वा्धिक ४१ रन बनाए । यस्तै मोइन अलीले ३२ तथा आकाश दीप नाथले १९ रन बनाए । एबी डी भिलियर्स १७ रनमा आउट हुँदा मार्कुस स्टोइनिसले १५ रन बनाए ।

बैंगलोरलाई सस्तैमा समेट्न दिल्लीका कागीसो राबडाले २१ रन खर्चिएर ४ विकेट लिए । यस्तै क्रिस मोरिसले २ विकेट झारे ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४६ रन खर्चिएर १ विकेट लिए । बैंगलोरविरुद्ध १ विकेट लिएसंगै सन्दीपले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरे  ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ६७ रन जोडे ।

पृथ्वी शाले २८, कोलिन इन्ग्रामले २२, रिसभ पन्तले १८ रनको योगदान दिए । अन्यको प्रर्दशन खासै उल्लेख्य नरहे पनि दिल्लीले जित पक्का गर्न सफल भयो ।

कमेन्ट गर्नुहोस्
Share: