सरकारले उद्योगमैत्री वातावरण नबनाएको भन्दै उपराष्ट्रपति पुन असन्तुष्ट

455
0
Share:

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि सरकारले उद्योगमैत्री वातावरण बनाउन चासो नदिएको उल्लेख गर्दै असन्तुष्टि समेत जनाएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारणसभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण बनाउन नसकेकै कारण मुलुक पछि परेको बताए ।

उपराष्ट्रपति पुनले सरकारको उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पनि स्मरण गराए । ‘मुलुकलाई समृद्ध बनाउन पनि उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाई गर्न हुँदैन’ उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरे । उनले दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि मुलुकमा उद्योगमैत्री वातावरण बन्न नसकेको स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
Share: