
काठमाडौं । उन्नाईस वर्ष मुनिको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो ।
क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सरार्फले ३ विकेट हात पारे । यस्तै कुशल मल्ल र सुर्य तामांङले समान २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो ।
सिंगापुरविरुद्ध बनाएको उक्त स्कोर १९ वर्ष मुनिको क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वा्धिक ठुलो स्कोर हो ।
अब नेपालले दोस्रो खेलमा भोली शनिबार युएईसंग खेल्नेछ । नेपालले तेस्रो खेल मलेसियासंग अप्रील १५ मा खेल्दा अप्रील १६ मा ओमानसंग खेल्ने छ ।
नेपालले पाँचौ तथा अन्तिम खेल अप्रील १८ मा कुवेतसंग खेल्नेछ ।
नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
